प्रधानमन्त्री रोजगार : महिला र भारत जाने मजदुरलाई राहत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री रोजगार : महिला र भारत जाने मजदुरलाई राहत


५ असार २०७९, आइतबार


सल्यान । ‘१० कक्षा पढ्दै गर्दा बिहे भयो । बिहेपछि ११ कक्षा पास गरे । १२ पास गर्न पाइन । पढाइ रोकियो । बच्चा जन्म्यो । अघि पढ्न पाइन । अहिले छोराले ४ कक्षामा पढ्छ । मेरो पढाइ रोकिए पनि छोरोलाई पढाउने मन छ ।’ यो भनाइ हो, बागचौर नगरपालिका ८ की २७ वर्षीय एन्जिला बिकको ।

आफ्नो जग्गामा उब्जेको मकैले ४ महिना खान पुग्ने उनले सुनाइन् । विकले बाँकी समय मजदुरी गरेर नै खाने गरेको बताइन् । आजभोलि उनी बाटो बनाउने, नाला खन्ने काममै व्यस्त छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुँदा उनलाई जीविकोपार्जनका लागि राहत मिलेको छ । गत वर्ष ८४ दिन काम गरेकी उनले यो वर्ष पनि वर्ष काम गर्दैछिन् । जसले परिवार पाल्न र छोरालाई पढाउन सहयोग पुगेको छ । बिक मात्रै होइन, यहाँका धेरै परिवारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले सहयोग पुगेको छ ।

बागचौर ११ का ५५ वर्षीय लिलमान खड्कालाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रम वरदान साबित भएको छ । पहिले रोजगारीका लागि भारत जाने गरेका उनी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएपछि भारत जानु परेको छैन । उनले बाटो बनाउने, पोखरी खन्ने कामबाट प्राप्त ज्यालाले चामल किन्ने गरेको बताए । ‘कामका लागि पहिले भारत जानु पर्थ्यो, अहिले जान छाडेको छु ।’ उनले भने, ‘परिवारसँगै बस्यो कमायो खायो । यो त अति खुसीको कुरा भयो ।’

रिचार्ज पोखरीले मूल संरक्षण
बागचौर नगरपालिकाका डाँडैभरि पोखरी निर्माण गरिएको छ । ८ मिटर लम्बाइ, ४ मिटर चौडाइ र १ मिटर गहिराइका पोखरी निर्माण गरिएको हो । पोखरी निर्माणमा संलग्न बागचौर ११ का भूपेन्द्र खड्काले भने, ‘पोखरीमा जमेको पानी गाईबस्तुलाई खुवाउन पनि हुन्छ । यसरी जम्मा भएको पानी जमिनले सोस्छ र भोलिका दिनमा पानीका मुहान सुक्न पाउँदैनन् ।’ उनी सहभागी टोलीले ५० वटा पोखरी निर्माण गरेको छ ।

१२ वटा वडा रहेको पालिकाका प्रत्येक वडामा ५० वटाका दरले ६ सय वटा पोखरी निर्माण गरिएको छ । पानीको मुहान सुक्न नदिन रिचार्ज पोखरी निर्माण गरिएको बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले बताए । उनका अनुसार पोखरीको छेउछाउमा घाँस पनि उम्रेकोले पर्यावरणको हिसाबले पनि राम्रो हुने अपेक्षा गरिएको छ ।

समान ज्याला
बागचौरका अधिकांश पुरुष रोजगारीका लागि भारत जाने गर्दछन् । पुरुष बाहिर गएका कारण पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत हुनेमा महिलाको सङ्ख्या बढी छ । र रोजगारी पाउनेमा पनि पुरुष भन्दा महिला नै बढी छन् । बिकका अनुसार १ सय ७० जना सहभागी भएको योजनमा मुस्किलले पुरुष २० जना हुन्छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले महिलालाई फाइदा पुगेको उनले बताइन् । एकातर्फ धेरै महिलाले रोजगारी पाउनु र अर्कोतर्फ पुरुष बराबर ज्याला पाउनु महिलाका लागि खुसीको कुरा भएको विकले बताइन् ।

रोजगार संयोजक डाँगीका अनुसार समान ज्याला पाउँदा महिलामा आत्मबल बढेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बागचौर नगरपालिकालाई आर्थिक वर्ष ०७५/७६ देखि हालसम्म १४ करोड ४ लाख ५५ हजार रकम प्राप्त भएको छ । बजेटबाट नगरपालिकामा पर्यटकीय तथा धार्मिक पदमार्ग निर्माण, सडक नाला निर्माण एवं स्तरोन्नति, गोरेटो बाटो निर्माण, रिचार्ज पोखरी निर्माण, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास सम्बन्धी काम भएका छन् ।

बाटो र पर्यटन पूर्वाधार
पहिले घाँस दाउरा गर्ने प्रमुख गन्तव्यका रूपमा चिनिएको दोभान जङ्ग आजभोलि पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको छ । यसै गरी बाटो निर्माण भएपछि विजयधुरी पनि पर्यटकीय स्थलका रूपमा परिचित हुने सम्भावना बढ्दै गएको छ । आश्विन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने र अरू समयमा बराह देवताको पूजा गर्ने धार्मिक स्थलका रूपमा रहेको उक्त स्थानलाई पर्यटकीय स्थल बनाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै बाटो निर्माण गरिएको हो ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनातर्फ दोभान जङ्ग, विजयधुरी पदमार्ग निर्माण आयोजना (पर्यटन पूर्वाधार) रहेको छ । । उक्त स्थानमा आउने धार्मिक पर्यटकले दोभान बजारमा आयआर्जनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।

थप प्रभावकारी बनाइने
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागचौरमा सडक निर्माण, रिर्चाज पोखरी निर्माण, खानेपानी आयोजना प्राथमिकतामा परेका छन् । प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा योजना सञ्चालन गरेका कारण बागचौर नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रममा उत्कृष्ट नगरपालिका बनेको थियो । पुरानो साखलाई जोगाउँदै कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध छ ।

‘बेरोजगारले काम पाएका छन् । त्यसबाट प्राप्त ज्यालाले जीविकोपार्जनमा सहयोग पुगेको छ । रोजगारीका लागि भारतमा जानेको सङ्ख्यामा पनि कमी आएको छ ।’ बागचौर नगरपालिकाका मेयर जनकराज गौतमले भने, ‘कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिरहेका छौँ ।’

यो वर्ष १ करोड २० लाख रुपैयाँ थप गर्न लागेका र यसले थप बेरोजगारलाई रोजगारी मिल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले बताए । गत वर्ष ५ करोड ६३ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । गत आवमा ५ हजार ४ सय ५२ जना बेरोजगारको सूचीमा सूचीकृत थिए । १ हजार १ सय ९० जनालाई नियम अनुसारको रोजगारी प्रदान गरिएको थियो ।

श्रम शक्ति खपत हुँदैन
नेपाली श्रम बजारमा वार्षिक ४ लाख बढी नयाँ जनशक्ति आउने गर्दछ । नयाँ बेरोजगारलाई रोजगार प्रदान गर्न सोही अनुसारको उद्योगधन्दा स्थापना हुन सकिरहेका छैनन् । एकातर्फ नयाँ रोजगारी सिर्जना नहुनु र अर्कोतर्फ सबैलाई निरन्तर रोजगारी प्रदान गर्न नसक्नु प्रमुख चुनौतीका रूपमा रहेको छ ।

प्राथमिकताका आधारमा योजना छनोट गर्नुपर्ने र सीमित साधन स्रोत भएका कारण सूचीकृत सबैलाई रोजगारी प्रदान गर्न सकिएको छैन । बागचौरमा पनि ५ हजार ४ सय ५२ जना बेरोजगारको सूचीमा सूचीकृत भएकोमा १ हजार १ सय ९० जनाले मात्र रोजगारी पाएका छन् ।

बजेट अभावले बेरोजगारको सूचीमा रहेका सबैलाई रोजगारी दिन नसक्दा केही असन्तुष्टि देखिने गरेको मेयर गौतमले बताए । बैङ्कको सङ्ख्या कम भएका कारण भुक्तानीमा केही समस्या भएको उनले बताए ।

प्रशासकीय अधिकृत हमालका अनुसार कार्यक्रममा सहभागी आफैले काम गर्ने औजार ल्याउनु पर्ने भएकाले काम गर्ने औजारको पनि व्यवस्था गर्नुपर्ने माग उठेको छ । केही जनप्रतिनिधिहरूले आयोजनामा तोकिएका श्रमिकहरूको सङ्ख्याभन्दा बढी व्यक्तिहरूलाई काममा खटाउन दबाब दिने गरेको रोजगार संयोजक डाँगीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस