संसदीय समितिमा प्रधानसेनापतिको जवाफ : एसपीपीमा आबद्ध हुन सकिँदैन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसदीय समितिमा प्रधानसेनापतिको जवाफ : एसपीपीमा आबद्ध हुन सकिँदैन


३ असार २०७९, शुक्रबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गरेका छन् ।

उनले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपदमा मानवीय र गैर सैनिक सहयोगका लागि सरकारको स्वीकृतिमा पत्राचार गरेको र सहयोग पनि लिएको तर पछि सन् २०१९ पछि एसपीपी ‘इण्डो प्यासिफिक रणनीति’को अङ्ग हुने भनिएपछि यसमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई पत्राचार गरेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सैनिकका एसिया प्यासिफिक प्रमुखसँगको भेटमा पनि आफूहरु एसपीपीमा आबद्ध हुन नसक्ने स्पष्ट कुरा राखेको जानकारी दिए ।

उनले सामाजिक सञ्जाल र केही मिडियामा देखिएको नेपालले सम्झौता गर्न लागेको भनी सार्वजनिक एसपीपीको १० बुँदे पत्र पुरै गलत भएको बताए ।

सो अवसरमा प्रधानसेनापति शर्माले भोलि असार ४ गतेदेखि आफूले गर्न लागेको लेबनान, सिरिया र अमेरिकाको भ्रमणका सम्बन्धमा समितिलाई जानकारी गराएका थिए ।

साथै उनले भ्रमणका क्रममा आफ्ना तर्फबाट कुनै सम्झौता नहुनेसमेत स्पष्ट पारे । उनले नेपाली सेना मुलुकको परराष्ट्र नीति र जनहितका आधारमा मात्र सञ्चालन हुने पनि सो समितिमा स्पष्ट गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस