डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरुद्ध


३ असार २०७९, शुक्रबार


काठमाडौँ । सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ।

बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।

कार्यालय प्रमुख जयलाल मरासिनीका अनुसार रुपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको हो।

त्यस्तै पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ।

मरासिनीले घोडाहा खोलाको डाइभर्सन मर्मत गर्ने काम सुरु गरिएको र तुरिया खोलामा बेलिब्रिज आज दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए।

अहिले बुटवलबाट पूर्व जाने सबै गाडीहरू भैरहवा-परासी-भुमरी सडक हुँदै आवतजावत गरिरहेका छन्।

सडक निर्माणको क्रममा बनाइएका डाइभर्सन बगाएपछि गत वर्ष पनि दर्जनौँ पटक बुटवल बर्दघाट सडकखण्ड अवरुद्ध भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस