देशका केही ठाउँमा भारी वर्षाको संभावना, जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशका केही ठाउँमा भारी वर्षाको संभावना, जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन आग्रह


३ असार २०७९, शुक्रबार


काठमाडौँ । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । मनसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ ।

पूर्वी नेपालका नदी तथा खोलामा बहाव अन्य क्षेत्रको तुलनामा धेरै बढेको छ । पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ताप्लेजुङ्गको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ । बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

सो क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइसकिएको विभागले जनाएको छ । उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।

प्रदेश-१ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

आज बिहान प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश-१ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल देशको प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस