कर्णाली प्रदेश सरकारले ‘कर्णाली सिंहदरवार’ बनाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णाली प्रदेश सरकारले ‘कर्णाली सिंहदरवार’ बनाउने


२ असार २०७९, बिहिबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले आठ वटै मन्त्रालय एउटै कम्पाउन्डभित्र बनाउने भएको छ । जसलाई ‘कर्णाली सिंहदरवार’ नाम दिइएको छ ।

हाल वीरेन्द्रनगर–७, इत्रामस्थित प्रदेश सरकारका मन्त्रालयहरु र केही सरकारी कार्यालयहरु रहेका छन् ।

सोही ठाउँलाई घेरबार गरेर कर्णाली सिंहदरवार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।

बजेटबारे जानकारी दिन आज (बिहीबार) मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, हामीले यो गत आर्थिक वर्षमै बनाउन खोजेका थियौँ तर सफल हुन सकेको थिएन । आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउँछ । त्यसका लागि बजेट पनि छुट्याएका छौँ।’

उनका अनुसार कर्णाली सिंहदरवार निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेको थियो । तर सङ्गठन संरचना फेरबदल भएपछि पुनः डीपीआर गरिने छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा भवन निर्माण हुनेछ । झन्डै दुई बिघा जग्गामा आठ वटै मन्त्रालयका भवन बनाइनेछ । त्यसका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली सिंहदरवार निर्माण भए सुरक्षाको दृष्टिले सहज हुनेछ । नागरिकले एउटै छाताबाट सुरक्षा पाउने मन्त्री विष्टको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस