राप्ती नगरपालिका : चुपचाप नमुना काम गरिरहेको एउटा दूर दराजको पालिका « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राप्ती नगरपालिका : चुपचाप नमुना काम गरिरहेको एउटा दूर दराजको पालिका


२ असार २०७९, बिहिबार


चितवन । जिल्ला, अनि त्यहाँका स्थानीय सरकारहरूको नाम लिनासाथ धेरैको दिमागमा भरतपुर महानगरपालिका नै आइपुग्छ । नआओस् पनि कसरी ! यो त्यही महानगर हो जो कहिले मतपत्र च्यातेर हार्दाहार्दैका उम्मेदवारलाई मेयरमा जिताएको महानगर भनेर चर्चित बन्यो । अनि कहिले (भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा) कुनै दलका अमुक उम्मेदवारलाई जिताउन राज्य संयन्त्रदेखि सत्ता गठबन्धनका सबै प्रमुख दलका शीर्ष नेतासमेत परिचालन भएको महानगरका रुपमासमेत यो आलोचित बन्यो । 

तर, चितवनमा यसरी चर्चा हुनुपर्ने भरतपुर मात्र छैन । त्यहाँ यो बाहेक अरू ६ वटा स्थानीय सरकार (तह) पनि छन् जसले चर्चा पाउन योग्य काम गरेका छन् । राप्ती नगरपालिका तिनैमध्येको हो । पूर्वी चितवनको राप्ती नगरपालिका साबिकका पिप्ले, भण्डारा वीरेन्द्रनगर, कोराक र लोथर गाविस मिलेर बनेको हो जहाँ पहाडीदेखि समथरसम्मको विविधतायुक्त भूगोल छ । पूर्वमा मकवानपुर, पश्चिममा चितवनकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत शृङ्खला हुँदै धादिङसँग जोडिने यो नगरपालिकाको दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज छ । र, पाँच वर्षअघि यसको परिचय भर्खरै बनेको, कसैले नचिनेको अनकन्टार नगर मात्र थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलकै शब्दमा यो विकासमा निकै पछि परेको ठाउँ थियो । ‘धेरै पछि परेको बस्ती  हो । बाटोघाटो नै थिएन । बिजुली, खानेपानी लगायतका समस्या त कति कति,’ भुजेल अहिले पनि सम्झन्छन् । 

तर, अवस्था त्यही रहिरहेन । पछिल्ला पाँच वर्षमा यो नगरपालिका आफ्नो त्यसखाले परिचय बदल्न कम्मर कसेर लाग्यो । २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको सक्रियता यसरी बढ्यो कि राप्ती नगरपालिका पाँच वर्षमै गुमनामबाट उदाहरणीय पालिकाको पङ्क्तिमा उभिन मिल्ने हैसियतमा आइपुगेको छ । यहाँ हामी राप्ती नगरपालिकाले एउटा बलियो स्थानीय सरकार बन्नलाई चाहिने पूर्वाधार कसरी तयार पार्‍यो र अरूका लागि कसरी उदाहरण बन्दै छ भन्ने चर्चा गर्दै छौँ ।   

दूर दराजमा सडक सञ्जाल, वडासम्म आफ्नै भवन

राप्ती नगरपालिकाले पछिल्लो पाँच वर्षमा गरेका कामको फेहरिस्त लामो छ । २०७४ देखि २०७८ सम्मका उपलब्धिलाई त यसले सबैले बुझ्ने गरी पुस्तिकामै प्रकाशन गरेको थियो । तैपनि, नगरपालिकाले यसबिचमा गरेका काम बुझ्न हामीले प्रमुख प्रशासकीय अधिकृत भुजेललाई सम्पर्क गर्‍यौँ । उनले यसबिचमा नगरपालिकाले धेरै महत्त्वपूर्ण काम गरेको विवरण सुनाए ।

हुन पनि नगरपालिकाले यसबिचमा आम मानिसले अनुभूति गर्न सक्ने कैयौँ काम गरेको रहेछ । जस्तो कि, सडकको अवस्था निकै दयनीय रहेको नगरपालिकाभित्र सडक नभएका ठाउँमा मोटरबाटोको ट्रयाक खुलेको छ । यसबिचमा ११२ किलोमिटर नयाँ सडक निर्माण भएको छ भने १४६ किलोमिटर सडकलाई ग्राभेल गरिएको छ । सडन निर्माण भएका ठाउँमा बिस्तारै कालोपत्रे गर्दै जाने नगरपालिकाको योजनाबमोजिम नगर क्षेत्रभित्र करिब १३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । 

स्थानीय तहहरूले पहिलो पाँच वर्ष गुजारेपछि भर्खरै सम्पन्न निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएका छन् । बितेका पाँच वर्षमा अधिकांश स्थानीय तह (पालिका) हरुले आवश्यक पूर्वाधार निर्माणमा खासै काम गर्न सकेनन् । अरू त अरू, आफ्नै कार्यालय भवनसम्म बनाउन सकेनन् । तर, राप्ती नगरपालिका भौतिक संरचना निर्माणमा अब्बल देखिएको छ । पहिलो पाँच वर्ष सकिँदा नसकिँदै नगरपालिका आफ्नै पक्की भवनमा सरेको छ । १३ मध्ये १२ वटा वडा कार्यालयले पनि आफ्नै कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् । अब वडा नम्बर १२ मात्र त्यसमा बाँकी छ, यसको पनि भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यसबाहेक नगरपालिकाको आफ्नै नगर सभा हल पनि तयार भएको छ । 

देशभरका अधिकांश स्थानीय तहहरू अहिले पनि घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छन् । त्यो अवस्था हेर्दा चितवनको पनि दूर दराजको क्षेत्र मानिने राप्ती नगरपालिकाले पहिलो कार्यकालमा भौतिक संरचना निर्माणमा जेजस्तो काम गरेको छ, त्यो धेरैका लागि उदाहरण बनेको छ । 

काठमाडौँले समेत सिक्नुपर्ने नगरपालिका

राप्ती नगरपालिकाले सुरु गरेका अरू कैयौँ काम पनि उदाहरणीय छन् । जस्तो कि, फोहोर व्यवस्थापन । बढ्दो सहरीकरणले फोहोर व्यवस्थापन अहिले सबैतिर निकै पेचिलो मुद्दा बनेको छ । मुलुकको सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाभित्र फोहोर व्यवस्थापन समस्याले निम्त्याएको सकस थेगिनसक्नु भइसकेको छ । तर, स्थापना भएको पहिलो कार्यकालमै राप्ती नगरपालिकाले फोहोर व्यवस्थापनमा नमुना काम गरेर देखाएको छ । कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने संरचना निर्माण गरेर यो काम अघि बढाइसकिएको छ । 

‘चितवनका चार वटा पालिकाबिच सहकार्य भएर रत्न नगरमा फोहोर बिर्सजन गर्ने गरी एकीकृत रूपमा फोहोर व्यवस्थापनको काम भइरहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत भुजेलले भने, ‘कालिका, रत्न नगर, खैरहनी र राप्ती नगरपालिका मिलेर यसमा काम गरिरहेका छौँ।’

फोहोरबाट कम्पोस्ट मल बनाउन कहलिएको जापानी संस्था रिकिसी, नगरपालिका र शिव शक्ति सामुदायिक बनबिच भएको त्रिपक्षीय सम्झौताबमोजिम यहाँको फोहोर व्यवस्थापनबाट अहिले कम्पोस्ट मल उत्पादन भइरहेको छ । त्यही कारण अनेक समस्याका बाबजुद नगर क्षेत्रभित्रको फोहोर नियमित उठाइन्छ । र, त्यसलाई वैज्ञानिक विधिबाट अर्ग्यानिक मलमा परिणत गर्दा नगर स्वस्थ र स्वच्छ बनाउने अभ्यास पनि अघि बढेको छ ।  

चितवनका चार वटा नगरपालिकाले पोहोर मैलाको व्यवस्थापन मात्र होइन, विपद् व्यवस्थापनका लागि दमकल सञ्चालनमा पनि सहकार्य गरेका छन् । कालिका, रत्न नगर, खैरहनी र राप्ती नगरपालिकाले यति बेला संयुक्त रूपमा दमकल सञ्चालन गरेका छन् । 

शिक्षाको विकासमा रफ्तार

नगर क्षेत्रभित्र यसबिचमा ११० वटा विद्यालय भवन निर्माण र जीर्ण बनेका विद्यालय भवन मर्मतको काम सम्पन्न भएको छ । शिक्षा क्षेत्रको विकास र सुधारका लागि विद्यालय भवनजस्ता संरचना निर्माण एउटा पाटो मात्र हो । नगरपालिका एउटै पाटोमा मात्र सीमित भएको छैन । शिक्षामा सुधारकै निम्ति बाल विकास सहजकर्ता र विद्यालयका अरू कर्मचारीहरूको मासिक पारिश्रमिक बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याइएको छ । 

राप्ती नगरपालिकामा लोपोन्मुख चेपाङ समुदायको पनि बसोबास छ । चेपाङ समुदायका बालबालिकालाई कक्षा १० सम्म निःशुल्क खाजा वितरण गर्ने व्यवस्था मिलाइएको छ । उनीहरूमध्ये कतिपय टाढाबाट विद्यालय आउने हुँदा पढाइ सहज होस् भनेर उनीहरूका लागि छात्रावास (होस्टेल) समेत निर्माण गरिएको छ । यसबाहेक विद्यालयमा अध्ययनरत २० वर्षभन्दा माथि उमेर भएका अविवाहित चेपाङ छात्रालाई प्रोत्साहन÷छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेर नगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । 

नगरपालिकाले १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम निर्माण गरेर नगर क्षेत्रका सबै विद्यालयमा त्यसलाई पढाउने सुरुआत गरिसकेको छ । एसइई परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई नगरपालिकाकै खर्चमा तीम महिना निःशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था मिलाइएको छ । 

अहिले नगरक्षेत्रभित्रका विद्यालयहरूमा इन्टरनेट जडानको काम धमाधम हु नथालेको छ जुन नगरपालिकाकै पहल हो । नगर क्षेत्रका विद्यालयमा नर्सको समेत व्यवस्था गर्ने अभियानअन्तर्गत अहिलेसम्म तीन वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भइसकेको छ । त्यस्तै, सुत्केरी बिदामा बस्ने शिक्षकको सट्टा स्वयंसेवक शिक्षक व्यवस्था गरेर पनि शिक्षाको गुणस्तर कायम राख्ने कामलाई प्राथमिकतामा राखिएको छ । 

प्राथमिकतामा स्वास्थ्य सेवा

नगरपालिकाले २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै भण्डारा अस्पताल निर्माणको काम अघि बढाएको छ । सञ्चालनमा आइसकेको अस्पतालमा नगरवासीको सहुलियतका लागि नगरपालिका आफैले एम्बुलेन्स सञ्चालन गरेको छ । अस्पतालमा ९० वर्ष उमेर पुरा भएका वृद्धलाई निःशुल्क, ८० देखि ९० वर्ष उमेर समूह र क्यान्सर, मुटु तथा मिर्गौलाका बिरामीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

स्थानीय स्वास्थ्य चौकीबाट सुत्केरी हुन भरतपुर अस्पतालसम्म आवतजावत गर्ने महिलालाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको छ । अब नगरभित्रै यसका लागि १० शय्याको सबै पूर्वाधारसहितको अस्पताल भवन निर्माणको काम पनि सुरु गरिएको छ । त्यस्तै, आमा पोषण कार्यक्रमलाई प्राथमिकतामा राख्दै नगरपालिकाले स्वास्थ्य चौकीमा सुत्केरी भएमा प्रोत्साहन स्वरुप दुई हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ । 

अपाङ्गता भएका वा फरक शारीरिक क्षमताका व्यक्तिहरूलाई सहयोग सामग्री वितरण गर्न थालिएको छ । अपाङ्ग परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्य सहज बनाएको नगरपालिकाले पूर्ण अपाङ्गता भएकालाई घरमै चिकित्सकसहितको टोली पठाएर स्वास्थ्य जाँच गर्ने सुरुआत पनि गरेको छ । ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई नगरपालिकाबाट नियमित सम्मान गर्न थालिएको छ । 

सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ प्रणालीबाट गर्न थालिएको छ । नगरपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता पाउने २ हजार ५६ पुरुष र ३ हजार २२७ महिलाको भत्ता सोझै खातामा जाने व्यवस्था मिलाइएको छ । 

नगरपालिकाले राजमार्ग क्षेत्रमा भइरहने सवारी दुर्घटनालगायत अन्य घटनाको समेत अनुसन्धानमा सहयोग पुगोस् भनेर १३० वटा सिसिटिभी क्यामरा जडान गरेको छ । किसानलाई प्रत्यक्ष लाभ दिन कृषि उपजको भण्डारण र व्यवस्थापनको निम्ति कृषि सहकारीका भवन निर्माणमा पनि नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । यसबाहेक स्यालो बोरिङ र डिप बोरिङ निर्माण, चौपायामा नस्ल सुधारका कार्यक्रम आदी पनि सञ्चालन गर्न लागिएको छ । 

नगरपालिकाले जे जति गरिरहेको छ, त्यसलाई पारदर्शी रूपमा नागरिकमाझ लैजाने प्रयास पनि गरेको छ । जस्तो कि, सबै सूचना नागरिकमाझ पुर्‍याउन राप्ती नगरपालिका एप पनि सञ्चालनमा ल्याइएको छ । इन्टरनेट सेवा प्रयोग गर्ने नगरवासीले नगरपालिकाको यो एपबाट सहजै आफूले पाउनुपर्ने सूचना प्राप्त गर्छन् । 

नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न इलेक्ट्रिसियन, ब्युटिसियन, सिलाई कटाई, वेटर, ड्राइभिङ, सिकर्मी÷ठकर्मी तालिम सञ्चालन गरिरहेको छ । यसबाट दक्ष जनशक्तिलाई रोजगार वा स्वरोजगारमा लाग्ने वातावरण बनेको छ । 

बाढी तथा भूक्षयको उच्च जोखिममा रहेका राप्ती, लोथर, पम्फा, च्यात्रा, ढुङ्गे, मार्ताल, सुख्खा खोला र लदरा खोला किनारका बस्ती जोगाउन ती खोलामा तटबन्ध निर्माण र जलाधार संरक्षणका कामसमेत अघि बढाइएको छ । 

नगरपालिकाले पहिलो कार्यकालमा १० वटा कानुन र ४२ वटा कार्यविधि बनाएर काम अघि बढाएको थियो । नगरको रणनीतिक योजना र यातायात गुरुयोजनासँगै नगरपालिकाको मास्टर प्लान निर्माण पनि अघि बढाइएको छ । सुकुम्वासी समस्या समाधान इकाई गठन गरेर लगत सङ्कलन गर्ने काम पनि भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत भुजेल पहिलो कार्यकालका महत्त्वपूर्ण कामलाई निरन्तरता दिएर अब शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमै बढी केन्द्रित हुने बताउँछन् । ‘पहिलो कार्यकालमा भौतिक संरचना निर्माणका काम सकिएकाले अबको ध्यान अन्य विकास निर्माण र सामाजिक सुधारतर्फ हुन्छ,’ उनले भने ।

निवर्तमान नगर प्रमुख प्रभा बराल पौडेल पहिलो कार्यकालमा थुप्रै भौतिक संरचना निर्माणदेखि पूर्वाधारका काम सम्पन्न भइसकेको बताउँछिन् । ‘सुरुवात बाट नै हामीले संरचना बनाउने, सुशासन कायम गर्नेदेखि प्रशासनिक सुधारका कामतर्फ हाम्रो ध्यान केन्द्रित रह्यो,’उनले भनिन्,‘सुशासन स्थापना गर्नका लागि जनतालाई दिने दैनिक सेवा प्रवाह गर्नका लागि सबैको सहयोग सद्भाव र समन्वयका आधारमा रहेर कामलाई अगाडि बढाएका हौँ ।’

स्थानीय सरकार सञ्चालन ऐन र संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर काम कारबाहीलाई अगाडि बढाएकाले नै धेरै काम गर्न सकिएको उनको भनाई छ ।

‘जनताको समस्यालाई प्राथमिकता राखेर नगरपालिकाको पहिलो आवश्यकता के हो भन्ने तर्फ नै हामीले ध्यान दियौँ। पाँच वर्षे कार्यकालमा प्रयत्नशील रह्यौँ,’उनले भनिन्,‘ पहाड र तराई त्यसमा पनि विपन्न समुदायको धेरै बस्ती भएकाले उनीहरूको क्षेत्रमा नै काम गरियो।’

ती समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि प्राथमिकताका साथ आफ्नो कार्यकालमा काम भएको उनले जानकारी दिइन् ।

‘नगरपालिका बन्ने संरचना नै थिएनन् । हामी आइसकेपछि ती संरचना बनाएका हौँ,’उनले भनिन्,‘अहिले सबै ठाउँमा बाटो पुगेको छ । ट्रयाक खुलेको छ । ग्राभेल भएको छ । खानेपानी पुर्‍याइएको छ । विद्युत् विस्तार भएको छ ।’

उनले नगरको दक्षिण क्षेत्रमा जङ्गली जनावर र बस्ती बिचको द्वन्द्व समाधान गर्न कङक्रिट वाल निर्माणको काम गरिएको बताइन् ।

नगरपालिकाले आवधिक र रणनीतिक योजना बनाउनुका साथै गुरुयोजना पनि निर्माण गरिसकेकाले अब नयाँ नेतृत्वले त्यसलाई निरन्तरता दिएर अघि बढे थप सुधारका काम हुने उनको सुझाव छ ।

‘अधुरा कामलाई नयाँ नेतृत्वले अगाडि बढाउनुपर्छ । हामीले अधिकांश काम भ्याइसकेका छौँ। सुकुम्वासी समस्या समाधानको कामलाई निरन्तरता दिनुपर्छ । पहाडको समस्यालाई विशेष महत्त्व दिनुपर्छ,’उनले भनिन्,‘विपन्न समुदायका बालबालिकालाई निरन्तर शिक्षा लिन सक्ने वातावरण र उनीहरूको परिवारको जीविकोपार्जनको कार्यक्रमलाई निरन्तरता दिनुपर्छ। बाढी पहिरो नियन्त्रणका लागि पनि हामीले थालेको कामलाई निरन्तरता दिनुपर्छ।’

शिक्षाको क्षेत्रमा विद्यालय भवन, शौचालय निर्माण लगायतको काम भइसकेकाले अब गुणस्तर सुधारको कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव छ। उनले किसानहरूको कृषि तथा पशुजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउने विषयमा नयाँ जनप्रतिनिधिले ध्यान दिएर काम गर्न सक्नुपर्ने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस