मन्त्री विमलाको हर्कतबारे एमालेले माग्यो मुख्यमन्त्रीको जवाफ,केही समयका लागि सदन स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्री विमलाको हर्कतबारे एमालेले माग्यो मुख्यमन्त्रीको जवाफ,केही समयका लागि सदन स्थगित


१ असार २०७९, बुधबार


रुपन्देही । लुम्बिनीमा राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले माग गरेपछि सदन केही समयका लागि स्थगित भएको छ ।

सदन सुरु भएसँगै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले आज (बुधबार) दिउँसो गरेको निर्णय सुनाएपछि सभामुख पूर्णबहादुर घर्तीले सरकारको ध्यानाकर्षण गराउँदै २५ मिनेटका लागि सदन स्थगित गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारीमा रहे पनि एमालेको मागले समय धकेलिएको हो ।

हिजो (मंगलबार) राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेकी थिइन् ।

राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ । एमाले संसदीय दलका नेता शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले संवैधानिक हिसाबले बजेट असार १ गते नै ल्याउनुपर्ने प्रावधानले सदन सुरु हुनासाथ विरोध जनाउने र आफ्नो कुरा राख्ने निर्णय गरेको थियो ।

एमालेले फरक मत राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि मात्रै बजेट पेस गर्न दिने निर्णय भएको एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए ।

यता सरकारले भने एमालेले बजेट प्रस्तुत गर्न नदिने बुझेपछि आजै घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस