वर्षायाम सकिनेवित्तिकै मेलम्चीको पानी काठमाडौँ ल्याइन्छ : मन्त्री चौधरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वर्षायाम सकिनेवित्तिकै मेलम्चीको पानी काठमाडौँ ल्याइन्छ : मन्त्री चौधरी


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौँको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षायामसम्मका लागि त्यहाँको पानी काठमाडौँ उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिएका हुन् ।

उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिस्टम, विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा सो आयोजनाको पानी काठमाडौँ ल्याउन वर्षायामसम्मका लागि बन्द गरिएको जानकारी गराए ।

मन्त्री चौधरीले वर्षायाम सकिनेवित्तिकै सो आयोजनाको पानी काठमाडौँ ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको बताए । यस अवधिमा काठमाडौँबासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरूको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरू भइरहेको उनको भनाइ थियो ।

यसैगरी, मन्त्री चौधरीले काठमाडौँ उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस