काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस गर्ने बताएका छन् ।
आज (सोमबार) बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै नेताहरु सोमबार बिहान फेरि प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।
भेटमा आफूहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भनेर प्रधानमन्त्रीलाई सोधेको र प्रधानमन्त्रीले बजेट लगत्तै नागरिकतासम्बन्धी विधेयक संसदबाट पारित गर्ने बताएको नेता राजेन्द्र महतोले जानकारी दिए । दलहरुबीचको किचलोका कारण नागरिकतासम्बन्धी विधेयक २०७५ भदौदेखि संसदमा अड्केको अड्क्यै छ ।