बैङ्कहरूले असारमा निक्षेपको ब्याज नबढाउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैङ्कहरूले असारमा निक्षेपको ब्याज नबढाउने


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । असारमा पनि बैङ्कहरूले निक्षेपमा हाल दिँदै आएको ब्याजदरलाई नै यथावत् राख्ने भएका छन् ।

नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले असार महिनाका लागि पुरानै ब्याजदरलाई यथावत् दिइने जानकारी दिए ।

आर्थिक वर्षको अन्तिम महिना भएको र मौद्रिक नीति पनि प्रतीक्षामा रहेकाले असार महिनामा पुरानै ब्याजदरलाई यथावत् राख्ने निर्णय नेपाल बैङ्कर्स एसोसिएसनले गरेको हो ।

जेठ मसान्तसम्म बैङ्कहरूले असार महिनाका लागि पुरानै ब्याजदरको सूचना सार्वजनिक गर्नेछन् ।

हाल वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३, संस्थागत मुद्दती निक्षेपमा १०.०३ र रेमिट्यान्सको मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् ।

त्यस्तै बचतमा ७.०३ र केहीले विशेष योजनामार्फत ८.०३ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । हरेक महिना बैङ्कहरूले निक्षेपको ब्याजदरमाथि पुनरावलोकन गर्ने गरेका छन् । अघिल्लो महिनाको तुलनामा यस्तो ब्याजदर १० प्रतिशतभन्दा घटबढ गर्न नपाइने व्यवस्था छ ।

आगामी मौद्रिक नीतिको व्यवस्था हेरेर मात्रै ब्याजदरबारे निर्णय हुन सक्ने बैङ्कर बताउँछन् । राष्ट्र बैङ्क हाल मौद्रिक नीतिको तयारीमा जुटिरहेको छ ।

बैङ्कमा बढ्दो लगानीयोग्य रकमको अभाव, घट्दो विदेशी मुद्रा सञ्चिति, उच्च व्यापार घाटा, बढ्दो महँगी लगायतलाई यस पटकको मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने अवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस