काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिए ।
सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य पाँच जना गम्भीर घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
अन्य चार जना भने सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिए ।
सम्बन्धित समाचार : जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु , ५ जनाको अवस्था गम्भीर