एउटा मैदानले कति फरक पार्दछ विद्यालयमा … « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एउटा मैदानले कति फरक पार्दछ विद्यालयमा …


२६ जेष्ठ २०७९, बिहिबार


जाजरकोट । तपाईँलाई स्कुल पढ्दाका दिन कत्तिको सम्झना आउँछन् ? पक्कै पनि आउँछन् होला । अनि स्कुल पुग्नासाथ घण्टी बजेको, त्यसपछि दौडादौड गर्दै लाइनमा लागेको, अनि पिटी खेलेर कक्षा कोठामा पसेको त्यो दृश्य मानसपटलबाट हट्ला पो कसरी ! तर, सबै स्कुल तपाईँ हामीले पढेका जस्ता थिएनन्, छैनन् । जहाँ विद्यार्थी पिटी खेल्न लाइनमा लाग्नै पाएनन् । घण्टी बजेपछि सिधै कक्षाकोठामा दौडिन मात्र बानी परे ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला त्यसको जल्दो बल्दो उदाहरण हो । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५, गर्खाकोटस्थित सरस्वती आधारभूत विद्यालयमा एक वर्ष अघिसम्म त्यस्तै थियो । बिहान १० बजे विद्यालयको घन्टी बज्नासाथ विद्यार्थीहरू सरासर आ–आफ्नो कक्षाकोठाभित्र लाग्थे । उनीहरू न लाइन लाग्थे, न पिटी खेल्थे ।

त्यसको कारण अझ रोचक छ । खासमा सरस्वती आधारभूत विद्यालयमा विद्यार्थीहरू लाइन लागेर पिटी खेल्न मिल्ने मैदान नै थिएन । एक त नाम मात्रको सानो मैदान, त्यसमाथि त्यो भिरालो थियो । त्यसमै खाल्डाखुल्डीले मैदान कहलिन लायक छँदै थिएन । यस्तो मैदानकै कारण त्यहाँ अरू खेलकुद र अतिरिक्त क्रियाकलाप केही हुँदैनथे । विद्यालयका शिक्षक अर्जबहादुर शाहीले पनि सुनाए, ‘त्यति बेला विद्यालयको मैदानमा एकैचोटी सबै विद्यार्थीलाई भेला गर्न सकिने अवस्था नै थिएन । त्यही भएर पिटी अभ्यास, अतिरिक्त क्रियाकलाप केही हुँदैनथे ।’

२०१७ सालमा स्थापना भएर सञ्चालनमा आएको यो विद्यालयमा ८ कक्षासम्म पढाई हुन्छ । अहिले पनि त्यहाँ ३३५ विद्यार्थी पढिरहेका छन् । पछिल्ला केही वर्ष पनि विद्यार्थी सङ्ख्या यही हाराहारी रहँदै आएको छ । एक वर्ष पहिलेसम्म विद्यालयमा हिउँदको समयमा पढाइसमेत बन्द गर्नुपर्ने बाध्यता थियो । ‘यहाँ हिउँदमा कक्षा कोठाभित्र असाध्यै चिसो हुन्छ । त्यो समयमा विद्यार्थीलाई कक्षाकोठा बाहिर घाममा राखेर पढाउन सहज हुन्छ,’ शिक्षक शाहीले भने, ‘तर, बाहिर त्यसरी राखेर पढाउने मैदान नभएकाले हिउँदमा हामीले पढाइ सञ्चालन गर्नै पाएनौँ ।’

अहिले विद्यालयको अवस्था पुरै बदलिएको छ । कक्षाकोठामा पस्नुअघि सबै विद्यार्थी लाइन लागेर पिटी खेल्छन् । विद्यालयमा खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलाप पनि नियमित हुन्छन् । अनि हिउँदमा पढाई नै बन्द गर्नुपर्ने अवस्था पनि छैन । एक वर्षमै अवस्था कसरी बदलियो त ?

यो परिवर्तन ल्याइदिएको हो, प्रधानमन्त्री रोजगार कार्यक्रमले । कार्यक्रम अन्तर्गत विद्यालयको खेल मैदान निर्माण गरिएपछि एक वर्षमै सरस्वती आधारभूत विद्यालयको स्वरूप नै बदलिएको छ । मैदान निर्माणपछि अरू धेरै कुराजस्तै अतिरिक्त क्रियाकलाप गर्न निकै सहज भएको उल्लेख गर्दै शिक्षक शाहीले भने, ‘पहिले खेलकुदका कार्यक्रम गर्न अर्काको बाँझो खेत खोज्दै हिँड्नुपर्थ्यो, अहिले विद्यालयको मैदानमै गर्छौँ ।’

उनले मैदान बनेपछि विद्यार्थीमा पनि छुट्टै आत्मविश्वास र उत्साह आएको बताए ।

मैदान निर्माणको कथा
सरस्वती आधारभूत विद्यालयमा मैदान अभावको समस्या प्रमुख थियो नै, सँगै थियो पहिरो खस्ने जोखिम । विद्यालयको पश्चिमतर्फ रहेको डाँडाबाट यहाँ जहिल्यै पहिरो खस्ने जोखिम थियो । अनि विद्यालय स्वयं पनि पहिरो खस्न सक्ने डिल जस्तोमै थियो । यसले शिक्षकदेखि अभिभावक र विद्यार्थी सबै त्रसित थिए ।

शाहीले सम्झिए, ‘पोहोरसम्म पनि पानी परेका बेला डाँडाबाट पहिरो खस्ने डरले त्राहिमाम् हुन्थ्यौँ ।’

विद्यार्थी, अभिभावक, शिक्षक– सबै त्यो त्रासबाट मुक्त हुन चाहन्थे । त्यसका माथि रहेको डाँडामा पर्खाल लगाउन जति आवश्यक थियो, त्यत्तिकै जरुरी विद्यालय हातालाई बलियो बनाएर मैदानको स्वरूप दिनु पनि थियो ।

यही कुरा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकले उठाए । उनीहरूले यो समस्या समाधानका लागि वडा तहको योजना छनोट भेलामा राखे । विद्यालयको मैदान निर्माणका लागि योजना माग गरे ।
त्यो योजनामा डाँडामा पर्खाल लगाउनसमेत बजेट मागिएको थियो ।

संयोग कस्तो भयो भने यही योजना प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कार्यान्वयन हुने गरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्‍यो । अनि गाउँ सभाबाट त्यसलाई पारित गरियो ।

योजना पारित भएको केही समयपछि स्थानीय राजेशबहादुर शाहीको अध्यक्षतामा फिल्ड (मैदान) निर्माण सम्बन्धी रोजगार उपभोक्ता समिति गठन गरियो । यो योजनामा काम गर्नका लागि विद्यालय रहेको बस्तीका बेरोजगार सूचीमा रहेका व्यक्तिबाट १७ जना कामदार छनोट गरिए । वडाका निर्वाचित जनप्रतिनिधिहरूले छानेका ती कामदारमध्ये १० महिला र ७ जना पुरुष थिए ।

तिनैमध्ये एक हुन्, ज्वाला शाही । त्यति बेला गाउँमै काम पाइने भएपछि उत्साहित बनेको सम्झँदै ज्वालाले भने, ‘आफ्नै बस्तीमा काम पायौँ, त्यो पनि आफ्नै बालबच्चा पढ्ने विद्यालयको मैदान बनाउने ।’

२०७७ फागुनबाट सुरु भएको मैदान निर्माणको काममा ज्वालाजस्तै १७ जना कामदार खटिएका थिए । उनीहरूले काम सुरु भएको १०० दिनमा अर्थात् २०७८ जेठ अन्तिम साता मैदान निर्माण कार्य सम्पन्न गरे । त्यस क्रममा विद्यालय छेउको डाँडामा पर्खाल लगाइयो, मैदानका खाल्डाखुल्डी पनि पुरेर सम्म पारियो ।

रोजगार उपभोक्ता समितिका अध्यक्ष राजेशबहादुर शाही मैदान निर्माणको काममा कुनै बाधा व्यवधान नआएको र तोकिएको अवधिभित्रै काम सम्पन्न भएको बताउँछन् । ‘कामदारहरू नियमित काममा आइरहनुभयो, त्यही भएर मैदान निर्माणमा कतै व्यवधान भएन,’ उनले भने ।

विद्यालयको रूपरेखा नै बदलिदिएको यो योजनामा जम्माजम्मी ८ लाख ७८ हजार ९०० रुपैयाँ खर्च भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जुनीचाँदे गाउँपालिकाका रोजगार संयोजक धनबहादुर बस्नेत बताउँछन् । अर्को रोचक के छ भने यो सम्पूर्ण रकम १०० दिनसम्म काम गरेका १७ जना कामदारले (नेपाल सरकारले तोके बमोजिम दैनिक प्रतिव्यक्ति ५१७ रुपैयाँका दरले) ज्यालाबापत पाए ।

यसले उनीहरूको जीवनमा पनि ठुलो भरथेग गर्‍यो । खटिएका कामदारहरूले घरायसी हाते औजार प्रयोग गरेर मैदान र पर्खाल निर्माण गरेको बस्नेत बताउँछन् ।

मैदानसँगै विद्यालय छेउको डाँडामा पर्खाल लगाइएकाले अब विद्यालयमा पहिरो खस्ने जोखिम पनि कम भएको छ । यसले गर्दा शिक्षक र विद्यार्थी मात्र होइन, अभिभावक पनि ढुक्क बनेका छन् ।

एउटा उपलब्धि, अर्को आशा
प्रधानमन्त्री रोजगार कार्यक्रमको सहयोगमा प्रत्यक्ष देखिने गरी भएको यो परिवर्तनलाई स्थानीयले ठुलो उपलब्धि मानेका छन् । जस्तो कि, रोजगार उपभोक्ता समितिका अध्यक्ष शाहीले पूर्वाधार विकाससँगै यसले बेरोजगारलाई पनि ठुलो भरोसा दिएको बताए । ‘त्यस कारण पनि यो कार्यक्रम यहाँ सञ्चालन भएका अन्य कार्यक्रमभन्दा फरक छ,’ उनले भने ।

जुनीचाँदे गाउँपालिका–५ का निवर्तमान कार्यवाहक वडाध्यक्ष भीमबहादुर बस्नेत पनि अध्यक्ष शाहीको कुरामा सहमत छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अरू कार्यक्रमभन्दा फरक रहेको बताए । ‘यस कार्यक्रममार्फत बेरोजगारले रोजगारी पाएका छन्, त्यसबाट पूर्वाधार विकास पनि भइरहेको छ’, उनले भने, ‘यसको अर्को राम्रो पक्ष, कामदारको ज्याला रकम सिधै सम्बन्धित व्यक्तिको बैङ्क खातामा जम्मा हुनु हो । यसले बेरोजगारलाई प्रत्यक्ष लाभ त दिएकै छ, आर्थिक हिनामिना हुनसक्ने सम्भावना पनि अन्त्य गरिदिएको छ देखिन्छ ।’

गाउँपालिकाका रोजगार संयोजक धनबहादुर बस्नेतले त प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित पारिश्रमिकमा आधारित आयोजनाबाट स्थानीय स्तरका धेरै समस्या समाधान हुने दाबी नै गरे । ‘यस्ता आयोजनाबाट स्थानीय स्तरमा रहेका बेरोजगारले काम पाउँछन्, साथै स–साना पूर्वाधारसमेत निर्माण हुन्छन्,’ उनले भने । जुनीचाँदे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश खत्रीले थपे, ‘यो कार्यक्रमबाट गाउँ“मा रोजगारी सिर्जना त भएकै छ, पूर्वाधार विकास पनि भइरहेकाले देश विकासका लागि यो धेरै महत्त्वपूर्ण छ ।’

विद्यालयमा मैदान निर्माणसँगै पिटी अभ्यास, अतिरिक्त क्रियाकलाप र पठनपाठन सहज हुन थालेपछि विद्यार्थीमा सकारात्मक शारीरिक र मानसिक प्रभाव पनि परेको छ । ‘नियमित पिटी अभ्यास र खेलकुदले छात्रछात्रालाई शारीरिक रूपमा ‘फिट’ बनायो, अतिरिक्त क्रियाकलापले मानसिक रूपमा,’ शिक्षक शाहीले भने, ‘सबैको प्रयासले मैदान बन्यो । विद्यालयमा अब अन्य पूर्वाधार बनाउन पनि जरुरी छ । जस्तो कि, विद्यार्थी पढ्ने दुई तले भवन जीर्ण भएकाले त्यसलाई मर्मत या नयाँ भवन नबनाई नहुने छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले यो काम पनि गरिदेला भन्ने आशा छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस