पैनी मर्मतले सिँचाइमा सहज, फेरिँदै छ किसानको जीवन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पैनी मर्मतले सिँचाइमा सहज, फेरिँदै छ किसानको जीवन


२५ जेष्ठ २०७९, बुधबार


सुनसरी । सुनसरीको दुहबी नगरपालिका-११ का किसान भैरवप्रसाद चौधरी खेती गर्न सिँचाइको समस्याले आजित थिए । गाउँमा सिँचाइका लागि जोहो नभएको होइन । तर, त्यसका लागि बनाइएको पैनी (नहरको पानीलाई खेतसम्म पुर्‍याउन बनाइएको कुलो) मर्मत नहुँदा त्यसले काम गर्नै छाडेको थियो । परिणाम, न उनी समयमा धानको ब्याड छर्न पाउँथे, न रोपाइँ गर्न ।

‘२०७५ सालपछि पैनी मर्मत हुन सकेको थिएन । पैनीमा ठुल्ठूलो घाँस उम्रिएर झाडीजस्तै बनेको थियो,’ चौधरीले सुनाए, ‘त्यही घा“सले पैनीको पानी ब्लक भयो । अनि खेतमा पानी आउनै छाड्यो ।’

पैनीमा घाँसको झाडी यति धेरै फैलिएको थियो कि त्यो केही किसान मात्र लागेर हटाउन मिल्ने अवस्था थिएन । यसले भैरवप्रसाद जस्तै दुहबी–११ का किसान बलराम साह पनि पिरलोमा थिए । ‘त्यो बेला न भनेको समयमा बीउ झार्न (ब्याड छर्न) पाइन्थ्यो, न खेती गर्न,’ उनले सुनाए, ‘खेती नै नहोला भन्ने पिरलो । समयमा खेती गर्न नपाएपछि उब्जनी त घट्ने नै भयो ।’

तर, किसानको यो चिन्ता हटाइदिने कोही भएन । पैनी मर्मत नभएपछि यहाँका किसानसँग सिँचाइका लागि विकल्प सीमित थिए–आकाशे पानी वा बोरिङको पानी ।

आकाशे पानीको भर थिएन । बोरिङबाट पनि खेती गर्न असम्भव प्रायः थियो । किनभने बोरिङ चलाउँदा एक त निकै महँगो बिजुली, त्यसमाथि समय बढी लाग्ने तर, पानी निकै कम आउने । त्यसबाट सिँचाई हुन चमत्कार पर्खेजस्तै थियो ।

यहाँ पैनी मर्मत नहुँदा किसानलाई सिँचाइको मात्र समस्या थिएन । खेतमा बर्खामा जम्ने पानी निकासको पनि समस्या परेको थियो । ‘पानीको निकास नहुँदा बढी वर्षा भएका बेला खेत डुबानमा पथ्र्याे । बालीनाली सबै नास हुन्थ्यो’, साह भन्छन् ।

डुबानमा खेत मात्र थिएनन्, नगर प्रमुख आवास क्षेत्र नाम दिइएको ठाउँमा बनिरहेका ५० हाराहारी घर पनि डुबान क्षेत्र बनेका थिए । यो डुबानको कारण भने पानी निकास गर्ने ठाउँ (नाला) नहुनु थियो ।

पछिल्लो एक वर्षयता भने यहाँको मुहारै फेरिएको छ । किसानले सिँचाइको समस्याबाट छुटकारा पाएका छन् । अनि डुबानमा पर्ने खेत र बस्तीको डुबान समस्या पनि हटेको छ । यो सबै दुहबी नगरपालिका–११ मा सम्पन्न भएको ‘नगर प्रमुख आवास क्षेत्रमा नाला निर्माण तथा बिर्ता पैनी मर्मत’ योजना सम्पन्न भएपछि आएको परिवर्तन हो ।

घाँस उखेल्ने योजनाको करामत
यो त्यही योजना हो जसले ‘घाँस/झार उखेल्न बजेट खर्च गरेको’ व्यापक टीकाटिप्पणी ब्यहोरेको थियो । किनभने यो योजनाअन्तर्गत भएको प्रमुख काम थियो– पैनीमा झाडी जस्तै बनेको घाँस उखेल्ने र पैनी सफा गर्ने । त्यही पैनी जहाँबाट किसानका खेतमा पानी पुग्थ्यो तर, घाँस उम्रेपछि त्यसले पैनीमा पानी बग्नै बन्द गरिदिएको थियो । र, यो योजना प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुहबी नगरपालिकाले सञ्चालन गरेको थियो जसमा एसियाली विकास बैङ्क लगायतले आर्थिक सहयोग गरेका थिए ।

खासमा ‘घाँस/झार उखेल्ने’ यही योजनाले सयौँ किसान परिवारको जीवन बदलेको छ । त्यसभन्दा अझ धेरैलाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ दिएको छ । जस्तो कि, सिँचाइको अभावले पिरोलिएका किसान बलराम साह भन्छन्, ‘बिर्ता पैनी मर्मत भएपछि समयमा खेती गर्न पाइएको छ । पहिले सिँचाइ सुविधा नहुँदा असारमा धानको बीउ छर्थ्यौ। पानी नपरे खेती हुन्थ्यो, पानी परे बालीनाली डुबेर सखाप हुन्थ्यो । अहिले समयमै खेती लाउन पाइन्छ, उब्जनी पनि पहिलेभन्दा राम्रो छ ।’ दुहबी-११ का धेरै किसान अहिले बलरामजस्तै खुसी छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुहबी नगरपालिकाका रोजगार संयोजक पवन प्रधान बिर्ता पैनी मर्मतपछि २०० परिवार किसानले सिँचाइ सुविधा पाएको बताउँछन् । ‘बिर्ता पैनी मर्मतपछि छेउछाउको जमिनमा पनि बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ,’ उनले भने ।

दुहबी-११ का निवर्तमान वडाध्यक्ष आशाराम चौधरी पनि पैनी मर्मतपछि किसानलाई ठुलो राहत भएको बताउँछन् । ‘सरसफाइपछि पैनीमा पानी सलल बगेको छ,’ उनी भन्छन्, ‘किसानले समयमा खेती गर्न पाएका छन्, उब्जनी बढ्न थालेको छ । अब उनीहरूको जीवन सुधारिने आशा जागेको छ ।’

२०७८ जेठ २७ मा सम्पन्न भएको यो योजनामा कूल ९ लाख ९२ हजार ६४० रुपैयाँ खर्च भयो । खर्च भएको यो सम्पूर्ण रकम कामदारले पारिश्रमिकबापत पाएको रकम हो । अर्थात् एक कामदारलाई नेपाल सरकारले तोके बमोजिम दैनिक ५१७ रुपैयाँका हिसाबले दिएको १ हजार ९ सय २० दिनको ज्याला रकम हो यो ।

यो योजना सम्पन्न गर्न दुहबी-११ का २१ पुरुष र ३ महिला गरी २४ जना कामदार खटिएका थिए । उनीहरूले औसतमा ८० दिन अर्थात् कूल मिलाएर १ हजार ९२० दिन काम गरेका थिए । प्रधानका अनुसार वडाभरिका सूचीकृत बेरोजगारको सूचीबाट कामदार छनोट गरिएको थियो ।

योजनाअन्तर्गत दुहबी नगरपालिका वडा नम्बर १० को सिमानादेखि नगर प्रमुख आवास योजना हुँदै टेन्ग्रा खोलासम्म जाने २ हजार ७५० मिटर लम्बाई, १.८३ मिटर चौडाइ र ०.४५ मिटर गहिराई भएको बिर्ता पैनी मर्मत गरिएको छ । त्यस्तै, नगर प्रमुख आवास योजनाभित्र ३०० मिटर लम्बाई, ०.६ मिटर चौडाइ र ०.६ मिटर गहिराइको नाला निर्माण भएको छ ।

योजनामा कामदारका रुपमासमेत खटिएका स्थानीय किसान चौधरी भन्छन्, ‘वडा नम्बर १० मा पर्ने पैनीको मुहानदेखि वडा नम्बर ११ सम्मको क्षेत्रमा सरसफाइ गर्दा राम्रो ज्याला पायौँ । त्यो काम गरेपछि हाम्रै खेतमा सिँचाइको समस्या पनि हट्यो ।’
दुहबी नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने प्राविधिक सहायक राजकुमार माझीले इस्टिमेट अनुसार योजना कार्यान्वयन भएको उल्लेख गर्दै भने, ‘योजनामा एकदमै राम्रो काम भएको छ । इस्टिमेट अनुसार काम गरेकाले कुनै त्रुटि छैन ।’

र, हट्यो डुबानको समस्या
पैनी मर्मतसँगै एकातिर किसानका खेतमा सिँचाइको समस्या हटेको छ, सँगै पानीको निकास भएपछि वर्षायाममा बालीनाली डुब्ने समस्याबाट पनि किसानलाई मुक्ति मिलेको छ । यति मात्र होइन, पैनी मर्मत र नाला निर्माण भएपछि वडा नम्बर ११ को तनमुनास्थित निर्माणाधीन आवास क्षेत्रमा पानी निकासको समस्या समाधान हुँदा डुबानको त्रास पनि कम भएको छ । प्रधान भन्छन्, ‘नाला निर्माण हुनुअघि त्यहाँ पानी निकासको समस्या थियो । अहिले समाधान भएको छ ।’ तर, वडाको दक्षिणी भेगमा पनि पानी निकासको समस्या अझै कायम रहेको बताउँदै उनले भन, ‘पैनीको १६ सय मिटर (वडा कार्यालयको उत्तरतर्फ ४ सय मिटर र दक्षिणतर्फ १२ सय मिटर) क्षेत्रको सरसफाइ भएको छैन । बर्खामा ठुलो पानी परे दक्षिणी क्षेत्र अझै पनि डुबानमा पर्न सक्छ ।’

तर, निवर्तमान वडाध्यक्ष चौधरीले त्यो क्षेत्रको डुबान समस्यामा पैनी नभई खोला जिम्मेवार रहेको बताए । ‘पैनीको दक्षिणपट्टि बग्ने खोलाले पैनी थुन्दा डुबान हुने गरेको छ,’ उनले भने, ‘१६ सय मिटर सरसफाइ हुन बाँकी रहेको कुरा सत्य होइन । पैनीको बिच भागमा झन्डै ५ सय फिट क्षेत्र सरसफाइ हुन नसकेको होला। त्यो क्षेत्र पनि सरसफाइ गर्न खोजेका हौँ तर, कामदार नपाउँदा गर्न सकिएन ।’

उनले सम्पूर्ण सरसफाइ नभए पनि पैनीमा पानी बगिरहेको, अहिले सिँचाइको समस्या हट्नु नै ठुलो उपलब्धि भएको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँका बेरोजगार व्यक्तिहरूका लागि आयआर्जनमा प्रत्यक्ष सघाएको उनको अनुभव छ ।

दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय स्तरमा प्रभावकारी देखिएको बताउँछन् । ‘जुन उद्देश्यबाट यो कार्यक्रमको सुरुवात भएको हो, त्यसमा सकारात्मक प्रभाव देखिएको छ,’ उनी भन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस