स्विट्जरल्याण्डद्वारा नेपाललाई ८६ करोड रुपैयाँ सहयोग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्विट्जरल्याण्डद्वारा नेपाललाई ८६ करोड रुपैयाँ सहयोग


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । विदेशबाट फर्केका नेपालीलाई स्वदेशमै पुनर्स्थापना गर्नका लागि स्विट्जरल्याण्डले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ बराबर (६.८ मिलियन स्विस फ्रैंक) सहयोग गरेको छ ।

अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र नेपालस्थित स्विट्जरल्यान्ड दूतावासकी सिल्भाना होगले सहयोग सम्झौता आदानप्रदान गरे ।

सो सहयोग रकम वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूलाई नेपालमा पुनर्स्थापित गर्न र सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक जीवनमा सक्रिय रूपमा सहभागी गराउनका लागि खर्चिइने छ ।

यस परियोजनाको उद्देश्य विदेशमा रोजगारी मार्फत नेपालीले प्राप्त गरेको ज्ञान, सीप, पुँजी र अनुभवको नेपालमा उपयोग गर्ने रहेको छ ।

आगामी साउनदेखि चार वर्षसम्म प्रदेश नम्बर १ र मधेश प्रदेशका २० स्थानीय तहमा यो परियोजना कार्यान्वयन हुनेछ । सहयोग रकमलाई सरकारको रातो किताबमा समावेश गरी स्थानीय तहमा कार्यान्वयन गरिनेछ ।

सम्झौता आदानप्रदान कार्यक्रममा अर्थ मन्त्रालयका अर्यालले वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, पुँजी र अनुभवलाई नेपालको सामाजिक–आर्थिक विकासमा उपयोग गर्न यसले मद्दत पुग्ने बताए ।

त्यस्तै दूतावासकी होगले आप्रवासी कामदारलाई फाइदा पुऱ्याउने नीति र योजनाहरू कार्यान्वयन गर्न नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस