देउवाको आश्वासनको भरमा माधव नेपाल, सपथ रोकिएकोबारे मन्त्री के भन्छन् ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

देउवाको आश्वासनको भरमा माधव नेपाल, सपथ रोकिएकोबारे मन्त्री के भन्छन् ?


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठकले गत आइतबार मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले बजेट पास भएपछि सोच्न सकिने बताएका हुन् ।

अहिले विषयगत मन्त्रालयको छलफल जारी छ । विषयगत मन्त्रालयको छलफल सकिएलगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने छन् । त्यसपछि आर्थिक विधेयक पेस भई पारित हुनुपर्ने छ । त्यसपछि मात्रै बजेट पारित गर्ने अन्तिम प्रक्रियामा जाने छ । त्यो समय जेठ महिनाभरिमा सकिने बताएको छ । यदि छलफल लम्बिँदै गएमा असार पहिलो सातासम्म पुग्न सक्ने आकलन गरिएको छ । तर, प्रधानमन्त्री देउवाले बजेट पारितकै प्रक्रियामा भएकाले पास भएलगत्तै मन्त्री हेरफेर गर्ने आश्वासन दिएको एकीकृत समाजवादीका एक मन्त्रीले बताए ।

‘अहिले बजेट पारितकै प्रक्रियामा छ । बजेट पारित भएलगत्तै एकीकृत समाजवादीका मन्त्री हेरफेर हुने प्रधानमन्त्री ज्यूले आश्वासन दिनु भएको छ,’ एकीकृत समाजवादीका ती मन्त्रीले भने,‘तर, एकीकृत समाजवादीका मात्रै मन्त्री हेरफेर गरे जसपा, माओवादी र काँग्रेसमा पनि मन्त्री हेरफेर गर्न प्रेसर बढ्छ । त्यसैले बजेटपछि मन्त्री हेरफेरको विषय के हुन्छ रु भन्न सकिँदैन ।’

मन्त्री हेरफेरको विषय एकीकृत समाजवादीको मात्रै नभएर गठबन्धनको समेत सरोकारको विषय भएकाले मन्त्री फेर्ने विषय सजिलो नभएको ती मन्त्रीको दाबी छ । तर एकीकृत समाजवादीबाट श्रम मन्त्रीमा प्रस्ताव गरिएका शेरबहादुर कुँवरले नयाँ मन्त्रीको सपथ किन रोकियो भन्ने विषयमा विस्तृत जानकारी नभएको बताए ।

‘हामी पार्टीमा सिपाही हौ । पार्टीले मन्त्रीमा सिफारिस गर्‍यो । हामी मन्त्री हुन तयार भयौँ ।’ कुँवरले भने,‘तर, प्रधानमन्त्री ज्यूले बजेट पारितकै क्रममा भएको भन्दै सपथ गराउन मान्नु भएन । पुरानै मन्त्रीको सेट कायम भयो ।’ प्रधानमन्त्रीले बजेट पारित भएपछि सपथ खुवाउने आश्वासन दिएको आफूले समेत सुनेको कुँवरले बताए । अरू राजनीतिक खेलहरू के के भए त्यस विषयमा जानकार नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस