कास्कीमा इम्बोस्ड जडान गर्न पूर्वाधार र जनशक्ति अभाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कास्कीमा इम्बोस्ड जडान गर्न पूर्वाधार र जनशक्ति अभाव


२४ जेष्ठ २०७९, मंगलबार


पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ ।

आज (मंगलबार) एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो ।

पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप बढेको भन्दै पुराना गाडीका सवारीसाधन कार्यालय नआउन भनिएको छ ।

‘अहिले सेवाग्राहीको चाप अधिक बढेको छ । कार्यालयमा विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अरु उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० वटासम्म मात्रै बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘कार्यालय परिसरमा सवारीसाधन पार्किङको पनि समस्या रहेकाले सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि यस कार्यालयबाट नयाँ तथा सरुवा दर्ता भई आउने सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गर्ने सूचना अनुरोध छ ।’

सरकारले हतारमा इम्बोस्ड नम्बर फेर्न उर्दी जारी गरेपछि पोखराका सङ्घसंस्थाले विरोध जनाएका छन् । उद्योग वाणिज्य महासङ्घ र उपभोक्ता मञ्च गण्डकीले संयुक्त विज्ञप्ति जारी गरी इम्बोस्ड नम्बर प्लेट फेर्ने निर्णय बदनियतपूर्ण भएको भन्दै सच्याउन आग्रह गरेका छन् । विरोध बढेपछि कार्यालयले सूचना निकालेर नयाँ व्यवस्था नहुँदासम्म पुराना गाडीमा प्लेट नफेरिने जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस