जसपा पनि मन्त्री हेरफेरको तयारीमा, यी हुन अवसर पाउने नयाँ अनुहार ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जसपा पनि मन्त्री हेरफेरको तयारीमा, यी हुन अवसर पाउने नयाँ अनुहार !


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दबाब परेको बताइएको छ।

अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए ।

पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बताएको छ । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्।

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको स्रोतको भनाई छ ।

यसअघि एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको थियो । नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीमा पठाउने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ । उनीहरुले आजै शपथ लिने तयारी भइरहेको छ ।

दलहरूको मन्त्री फेरबदलको तयारीलाई आगामी सङ्घीय निर्वाचन लक्षित रणनीतिको रूपमा हेरिएको छ । यद्यपि नेपाली काँग्रेस र माओवादी केन्द्रले भने हालका मन्त्रीलाई नै सङ्घीय निर्वाचनसम्म कायमै राखिने बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस