हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्छ : राष्ट्रपति बाइडेन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्छ : राष्ट्रपति बाइडेन


२० जेष्ठ २०७९, शुक्रबार


वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका छन् । यदि, त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ ।

‘हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ । यदि, हामी त्यसो गर्न सक्दैनौँ भने २१ वर्ष नपुगेकालाई हतियार बेच्नु हुँदैन,’ उनले भने । हालै टेक्सासस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढाउनुपर्नेमा जोड दिए ।

बालबालिका र परिवारको सुरक्षाका साथै समुदायको रक्षाका लागि त्यसो गर्न जरुरी भएको उल्लेख गर्दै राष्ट्रपतिले कसैको बन्दुक खोस्ने नीति नभएको स्पष्ट गरे ।

भयरहित वातावरणमा विद्यालय, किराना पसल, गिर्जाघर जतासुकै स्वच्छन्दरूपमा जान पाउने अधिकार र स्वतन्त्रताको रक्षाका लागि बन्दुक खरिदको न्यूनतम उमेर बढाउनुपर्ने तर्क गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस