नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग « प्रशासन
Logo २४ मंसिर २०७९, शनिबार
   

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन् ।

प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए ।

पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा पनि जन्मदर्ता प्रमाणपत्र माग्ने, जन्मदर्ता प्रमाणपत्रका लागि विवाह दर्ता चाहिने र विवाह दर्ताका लागि नागरिकता चाहिने भएकाले यसको महत्त्व बुझेर काम गरिनुपर्नेमा उनले जोड दिए ।

सांसद भानुभक्त ढकालले नागरिकता निजी र बहकिने विषय नभएकाले राज्यले धान्ने गरी नागरिकता वितरण गरिनुपर्ने बताए ।

सांसद देवप्रसाद गुरुङले वैवाहिक अङ्गीकृत नागरिकताका हकमा अवधि कति राख्ने भन्ने विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गरेर सात वर्षे अवधि राखिएको उल्लेख गरे ।

नागरिकता ऐन (संशोधन) विधेयकका विषयमा एक पटक राजनीतिक दलका शीर्ष नेताको तहमा फेरि सहमति गरेर अघि बढ्नुपर्ने उनले बताए ।

सांसद लक्ष्मणलाल कर्णले सबै राजनीतिक दलका बीचमा सहमति कायम गरेर विधेयक पारित गरिनुपर्ने बताए ।

सांसद समिना हुसेनले वर्षौँदेखि संसदमा अड्किएको विधेयक पारित नहुँदा नागरिकता नपाएर आत्महत्या गर्नेको जिम्मेवारी संसद् र सरकारले लिनुपर्ने बताइन् ।

सांसद विमला विश्वकर्माले संविधानमा नागरिकताको विषय स्पष्ट भए पनि विधेयकमा संसदमा सहमति जुट्न नसकेकाले शीर्ष नेताको तहमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताइन् ।

समिति सभापति कृष्णभक्त पोखरेलले दलका शीर्ष नेताका बीच सहमति जुटे समस्या एकै दिनमा सहमति भएर विधेयक पारित हुने उल्लेख गर्दै वातावरण बनाउन समिति सदस्य रहेका सांसदलाई अनुरोध गरे ।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले संविधानको धारा ३०४ मा उल्लेख भएअनुसार बाझिएका कानुन एक वर्षमा संशोधन हुने विषय नागरिकता ऐनका सन्दर्भमा कार्यान्वयन हुन नसकेको बताए ।

विसं २०७५ मा प्रतिनिधिसभामा आएको विधेयक दुई वर्ष राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएर प्रतिनिधिसभामा पेस भएको दुई वर्षसम्म पनि पारित हुन नसकेको उनले सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस