तारा एयरको हवाईजहाज दुर्घटना अपडेट : भेटियो ब्ल्याक बक्स « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

तारा एयरको हवाईजहाज दुर्घटना अपडेट : भेटियो ब्ल्याक बक्स


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए ।

ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।

यसैबीच हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको मल्लले जानकारी दिए । ‘सबै २२ वटा शव र ब्ल्याक बक्स भेटियो र हामी मिसन कम्प्लिट गरेर त्यहाँबाट फर्किसक्यौँ,’ मल्लले भने ।

सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने  हराइरहेको अर्को एउटा शवको खोजी जारी थियो । आज बिहान भने सबै शव संकलनको काम सकिएको छ ।

घटनास्थलबाट संकलन गरिएका शव आज बिहान कोवाङ ल्याइएको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको थियो ।

सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट १० शव काठमाडौं ल्याइएको थियो । ती शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाइँदै छ ।

३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ : ५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट भएकाले शव र यात्रुका सामान संकलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस