समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले १५औँ गणतन्त्र दिवसका अवसरमा विज्ञप्ति जारी गरी मुलुकमा गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनमा जीवनोत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।

जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहित रही जन निर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि ती व्यवस्थाबाट जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकिएको छैन’, उनले भनेका छन् ।

अध्यक्ष नेपालले मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएकाले जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।

‘असंलग्न परराष्ट्र नीतिप्रति निष्ठावान् रहँदै राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानको रक्षार्थ दृढ रहनु प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी हो’, विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस