काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग अगाडि सारेका छन् ।
प्रतिनिधिसभाको शनिवारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै यादवले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने बताएका हुन् ।
मधेसमा जनसङ्ख्या बढेको भन्दै यादवले सोहीअनुसार निर्वाचन क्षेत्रमा परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘जुन बेला संसदीय निर्वाचन क्षेत्र तय गरिएका थिए त्यो बेला ४६ प्रतिशत जनसङ्ख्या थियो मधेसमा । आज ५३ प्रतिशत पुगेको छ जनसङ्ख्या । यो ५३ प्रतिशत जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रहरूको पुनर्निर्धारण हुनुपर्छ ।’
यादवले संविधानमा समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था पनि अपूरो भएको बताएका छन् । उनले सही किसिमले पछि पारिएको वर्ग र क्षेत्रलाई राज्यका निकायमा प्रतिनिधित्व हुने गरी समानुपातिक र समावेशिताको विषय राख्नुपर्ने बताए ।
सङ्घीयता कार्यान्वयन अल्झिएको पनि सत्तारुढ गठबन्धनमा रहेको जसपाका अध्यक्ष यादवको भनाइ थियो । उनले भने, ‘सङ्घीयता कार्यान्वयनको विषय अझै पनि अल्झिएको छ । सङ्घीयता निजामती ऐनको अभावमा प्रदेशहरूले कार्य गर्न सकिराखेको छैन ।’
प्रदेशहरू प्रहरी र निजामती कर्मचारीको अभावमा रहेको उनको भनाइ थियो । त्यसका लागि सङ्घले संविधानमा व्यवस्था भएअनुसार कानुन तर्जुमा गर्नुपर्ने उनको माग थियो ।
प्रदेशहरू कानुन, अधिकारको अभावमा प्रहरी प्रशासन र कर्मचारीको अभावमा कार्यमा जुन क्षमता देखाउनुपर्ने थियो त्यो देखाउन नसकेको तर प्रदेशहरूमाथि दोष लागिराखेको भन्दै यादवले सरकारको ध्यानाकर्षण गरेका छन् ।
यादवले नागरिकता विधेयक ल्याएर नागरिकताविहीनताको समस्या समाधान गर्न पनि आग्रह गरे । उनले भने, ‘नेपाली नागरिकका सन्तान राष्ट्रविहीनताको अवस्थामा रहेका छन् । राष्ट्रले गल्ती गर्ने र नागरिकता नदिने भएकाले समस्या छ । तत्काल नागरिकता ऐन पारित गरेर नागरिकता यथाशीघ्र प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । सङ्घीयतालाई कार्यान्वयन गर्ने निजामती ऐन ल्याउनुपर्छ ।’