काठमाडौँ । धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ ।
स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो ।
जिल्ला प्रहरी कार्यालय धुलिखेल गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरू काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जनाएको छ । प्रहरीका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो ।
यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका-३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिङ्ग्या शरणार्थीले टहरा बनाएर बसेका थिए । एक सय ४० जना शरणार्थी बस्ने गरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरू उक्त ठाउँ छाडेर लसुनटार फर्किएका थिए ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् । ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ ।