बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेश र प्रि बजेट पेस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेश र प्रि बजेट पेस


१३ जेष्ठ २०७९, शुक्रबार


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताएका छन् ।

बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले हेटौँडा अस्पतालमा नै मिर्गौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताए । यसका लागि धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको उनले उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गरे ।

त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौँडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै यातायात क्षेत्रको सुधारका लागि ट्रायल सेन्टरको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । उनले सार्वजनिक सवारी साधनमा विद्युतीय भाडा तिर्ने प्रविधि लागू गर्न प्रदेश सरकारले कार्यविधि पास गरिसकेको बताए ।

सरकारले भैँसे–भीमफेदी सडक विस्तारका सन्दर्भमा देखिएको समस्या समाधानका लागि क्षतिपूर्ति निर्धारणसम्बन्धी कार्यविधि पारित गरी स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाएको र उनीहरुले चाँडै क्षतिपूर्ति पाउने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

अहिले सडक विस्तारको काम भइरहेको छ । उनले प्रदेशमा किताबखाना स्थापना गरिएको बताए ।

त्यस्तै पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाइन् ।

उनले देशभर उच्च मूल्यवृद्धि भएकामा चिन्ता व्यक्त गरिन् । जनताको दैनिकीमा समस्या सिर्जना भएको उल्लेख गर्दै उनले सङ्घीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहोलबाट डराएर एमालेले जो भेट्यो त्यहीसँग चुनावी तालमेल गरेको आरोप लगाए ।

बैठकमा विवेकशील साझाका संसदीय दलका नेता रमेश पौड्याल र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र गोसाईं, राप्रपाकी रीना गुरुङलगायतले प्रदेश सरकारले जनताको भावनाअनुरुप काम गर्न नसकेको आरोप लगाए । उनीहरुले शीर्ष दलहरुबाटै जनभावनालाई उपेक्षा गर्ने कार्य भइरहेको भन्दै सच्चिएर अघि बढ्न सुझावसमेत दिए ।

बागमती प्रदेशसभामा पाँच अध्यादेश पेस

बागमती प्रदेशसभामा आज पाँच अध्यादेश पेस भएको छ । आजदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट पाँच अध्यादेश पेस भएको हो ।

सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेस गरिएको हो ।

प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गरेका हुन् ।

त्यसै गरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गरे ।

त्यस्तै प्रदेश निजामती सेवा अध्यादेश, २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७८ संसदमा पेस गरिएको छ ।

आजै बसेको दोस्रो बैठकमा अर्थमन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको प्रि बजेटसमेत पेस गरेका थिए ।

सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १४ गते बिहान ११ गते बस्ने गरी आजको बैठक स्थगित गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस