अमेरिका भ्रमणको तयारीमा देउवा, देउवाको भ्रमणअघि प्रधानसेनापति शर्मा वासिङ्टन डिसी जाँदै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

अमेरिका भ्रमणको तयारीमा देउवा, देउवाको भ्रमणअघि प्रधानसेनापति शर्मा वासिङ्टन डिसी जाँदै


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३-२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तरको भ्रमण हुन सकेको छैन ।

नेपाल-अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको कूटनीतिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको भ्रमणअघि प्रधानसेनापति प्रभुराम शर्मा वासिङ्टन डिसी पुगेर फर्कने कार्यक्रम छ । सैनिक स्रोतका अनुसार शर्माले असारको पहिलो वा दोस्रो साता भ्रमण गर्ने गृहकार्य भइरहेको छ । शर्मा अमेरिका भ्रमणको दौरान संयुक्त राष्ट्रसंघमार्फत नेपाल शान्ति स्थापनामा संलग्न इजरायललगायतका केही मुलुकमा पनि पुग्ने स्रोतले जनाएको छ ।

नेपालले आउने कात्तिक-मंसिरलाई आधार मानेर सङ्घ र प्रदेशको निर्वाचन गर्नुपर्ने र त्यसको करिब १ सय २० दिनअघि नै निर्वाचन घोषणा गर्नुपर्ने भएकाले देउवाको भ्रमण छिट्टै हुन लागेको हो । निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री औपचारिक भ्रमणमा जान मिल्दैन । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले भ्रमणका सम्बन्धमा दुवै पक्ष सकारात्मक रहेको बताए । ‘तर अहिले नै कहिले भ्रमण हुन्छ वा हुन्न भन्ने बेला भइसकेको छैन,’ उनले भने ।

नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा २०५९ मा देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् । नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५ पुस ३-५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाबाट उच्च तहको नेपाल भ्रमण नभए पनि पछिल्लो समय अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले यही जेठ ६-८ मा नेपालको भ्रमण गरेकी थिइन् । उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस