कञ्चनपुरमा काँग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुरमा काँग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी


९ जेष्ठ २०७९, सोमबार


महेन्द्रनगर । कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यस पटक भने तीन पालिकामा समिति रहन पुग्यो ।

दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली काँग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ ।

यहाँको भीमदत्त, बेदकोट, कष्णपुर तथा पुनर्वास नपा र बेल्डाँडी गाउँपालिकामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा यी चार वटै पालिकामा एमाले विजयी भएको थियो ।

त्यसै गरी एमालेले यहाँको दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल गरेको छ ।

यसअघि दोधारा र शुक्लाफाँटामा नेपाली काँग्रेसले जितेको थियो भने लालझाडीमा (माओवादी केन्द्र)ले जितेको थियो ।

त्यसै गरी स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले यहाँको बेलौरी नगरपालिका जितेको छ ।

अघिल्लोमा दुई पालिका जितेको माओवादी यस पटक भने एउटामा समिति रह्यो । उसले लालझाडी गाउँपालिका गुमाएको छ ।

नगरप्रमुखमा भीमदत्तमा नेपाली काँग्रेसका पदम बोगटी, बेदकोटमा काँग्रेसकै भोजराज बोहरा, कृष्णपुरमा काँग्रेसका हेमराज ओझा, पुनर्वासमा तोयराज शर्मा र बेल्डाँडी गाउँपालिकामा काँग्रेसका हरिचन्द्र राना निर्वाचित भएका छन् ।

त्यस्तै दोधारा–चाँदनीमा एमालेका किशोरकुमार लिम्बू, शुक्लाफाँटामा एमालेकै रणबहादुर महरा र लालझाडीमा निर्मल राना नेतृत्वमा पुगेका छन् ।

त्यसै गरी माओवादीका पोतिलाल चौधरी बेलौरीको नेतृत्वमा दोस्रो पटक पुगेका हुन् । यसअघिको निर्वाचनमा पनि उनी नगरपालिकाको नगरप्रमुखमा विजयी भएका थिए ।

जिल्लाका पालिकामा नेकपा माओवादी केन्द्रसित गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको नेकपा (एकीकृत समाजवादी)ले पालिका जित्न सकेनन् ।

केही वडाध्यक्षमा जीत निकालेको समाजवादीले पुनर्वास र बेदकोट नगरपालिकामा जित्न सक्ने आकलन गरेको थियो ।

बयानब्बे वडा रहेको कञ्चनपुरमा यस पटक दुई वडाध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन् ।

भीमदत्त–१३ मा रामचन्द्र बोहरा र पुनर्वास श्रवण रानाले बाजी मारेका छन् । त्यसै गरी उपप्रमुखतर्फ नौ पालिकामध्ये सात उपप्रमुख एवं उपाध्यक्ष नेपाली काँग्रेसले जितेको छ ।

दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा काँग्रेसले उपप्रमुख जितेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस