पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ ।

एक युवतीमाथि मानव बेचबिखन र अर्की किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी गरिएको हो ।

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी सुस्मिता रेग्मीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् ।

तर, उक्त घटनामाथि जाहेरी दिने हदम्याद पहिल्यै सकिएकाले प्रहरीले सुस्मितामाथिको अपराधलाई मानव बेचबिखनतर्फ मोड्न लागेको हो । बलात्कारमा जाहेरी दिने हदम्याद एक वर्ष हुन्छ ।

त्यस्तै अर्की एक किशोरी पाण्डेले आफूलाई बलात्कार प्रयास गरेको भन्दै हिजो प्रहरीको सम्पर्कमा आएकी थिइन् । उनको किटानी जाहेरीसमेत दर्ता भइसकेको छ ।

स्रोतका अनुसार उनको हकमा प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । उमेरले नाबालिक भएकाले उनको केसमा हदम्याद आकर्षित हुँदैन ।

आरोपी पाण्डेलाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिँदै छ । अदालतले मानवबेचविखन वा यौन दुर्व्यवहारमध्ये एउटा आरोपमा म्याद थप्नेछ ।

सम्बन्धित समाचार : सौन्दर्य प्रतियोगितामा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस