साजन र सम्बन्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साजन र सम्बन्ध


६ जेष्ठ २०७९, शुक्रबार


हामीले अध्ययन गर्दै आएको स्कुलबाट लगातार केही वर्ष एसएलसी परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको अवस्था थियो । कतै आफ्नो सन्तानले विद्यालय शिक्षा समेत पुरा नगर्ने हो कि भन्ने छटपटी परिवारमा देखियो । त्यसकै विकल्पस्वरुप कक्षा नौदेखि छिमेकी जिल्लाको स्कुलमा भर्नाको परिस्थिति बन्यो । घरदेखि स्कुल निकै टाढा थियो । चौध वर्ष टेकेको चुलबुले बालकलाई झोलाभरि किताबको भारी बोकेर लामो बाटो हिँड्न सहज थिएन । बिचबिचमा खोल्सा र खोला पर्ने सजिलो-अप्ठ्यारो गरी डेढदेखि दुई घण्टाको दैनिक यात्रा निकै कष्टकर थियो । सुरुताका सँगै स्कुल जाने आउने साथीको कमी अर्को मुख्य चुनौती थियो ।  स्कुल नजिकै बस्ने प्रबन्ध मिलाउन केही समय लाग्यो । सो व्यवस्था नहुँदासम्म कलिलो शरीरले दैनिक अनपेक्षित हिँडाई गर्नुपरेको यादले अहिले पनि झस्काउँछ ।

विद्यालय शिक्षाको लागि कठिनाइको यस्तो अनुभव तत्कालीन अवस्थामा पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने अधिकांश विद्यार्थीले गरेकोमा दुई मत छैन । हालसम्म पनि दुर्गम क्षेत्रका बालबालिका शिक्षाको लागि सङ्घर्षरत रहनु परेको यथार्थ हामीबाट छिपेको छैन । तराइका कतिपय जिल्लाका विभिन्न बस्तीहरूमा बसोबास गर्ने बालबालिकाले पनि यस्तो समस्या झेल्दै आएका छन् । पायक पर्ने स्थानमा विद्यालयको अनुपलब्धता, शिक्षकको अभाव, पूर्वाधारको कमी, कमजोर गुणस्तर र न्यून आर्थिक क्षमता लगायतका कारणले अझै पनि कतिपय बालबालिका आधारभुत शिक्षाबाट वञ्चित भइरहेको अवस्था छ ।

आजभन्दा करिब तीन दशक अघि क्याम्पस शिक्षाको पूर्वार्धमा मैले साजनलाई भेटेको थिए । उ निकै तीक्ष्ण दिमागको थियो । पहिलो भेटबाटै उ र म मिल्ने साथीको रूपमा नजिकिएका थियौँ । उ सँगको मित्रता र स्कुल पढ्दादेखि नै घरबाहिर बस्ने बानी परिसकेकोले जन्मस्थलको याद क्रमिक रूपमा व्यवस्थापन गर्न सकिएको थियो । नयाँ परिवेश, नयाँ साथीभाइ, सामान्य सहरी वातावरण, प्रकृतिको अनुपम सिर्जना तथा पर्यटकीय स्थल श्रीनगरको काखमा लमतन्न परेको तानसेन बजारको मनमोहकताले परिवारसँगको विछोड्को पीडा न्यून गर्न सघाएका थिए ।

पढाइमा साजन आफैमा अब्बल थियो । क्याम्पसको पढाइमा उसको रुचि कम देखिन्थ्यो । उसले क्याम्पस नै बंक गरेको त याद छैन । हुन त त्यो बखत बंक गरेर भुल्न जाने ठाउँ पनि थिएनन् । पर्यटकीय क्षेत्र श्रीनगर र एउटा मात्र फिल्म हल बाहेक मनोरञ्जनका अन्य साधन वा स्थलको उपलब्धता थिएन । अहिले जस्तो मोबाइल, इन्टरनेट तथा अनेकन् सामाजिक सञ्जालको सुविधा थिएन । सोही कारण कसैलाई अहिलेजस्तो अनुत्पादक कार्यको लत बस्ने कुरा भएन । यसकै परिणाम स्वरुप सबैका अनगिन्ती साथीहरू थिए । एकापसमा प्रगाढ मित्रता थियो । क्याम्पसको कक्षा कोठा, लाइब्रेरी, क्यान्टिन र परिसर भित्र मात्र होइन,बिदाको दिन नुहाई धुवाईकन लागि सार्वजनिक धारा खोज्दै बर्तुडसम्म जाने क्रममा पनि साथीहरूको लस्कर नै हुन्थ्यो ।सानातिना कुराहरूमा समेत सरसल्लाह चल्थ्यो । बिदा कटाउने सन्दर्भमा आपसी परामर्श हुन्थ्यो ।

खाजाको रूपमा सीमित रेस्टुरेन्टमा मम, छोयला, सुकुटी पाइन्थ्यो । अन्यमा समसा, तरकारी, मालपुवा, जेरी, पाउरोटी लगायत उपलब्ध थिए । मिल्ने साथीहरू हुल बाँधरे खाजा खान जाने चलन थियो । प्राय: सबैले आफ्ना साथीहरू भाडामा बस्ने कोठा देखेका थिए । होली लगायतका पर्वहरू सामूहिक रूपमा मनाइन्थे । जाँचको तयारीका लागि कहिलेकाहीँ एक आपसमा छलफल हुन्थे । कहिले श्रीनगर त कहिले बन्दी पोखरा जाने बाटोमा पर्ने जङ्गलमा पुगेर सामूहिक पठनपाठन चल्थ्यो । कहिलेकाहीँ पिकनिक वा घुमघामको रमाइलो जुर्थ्यो । कुनै साथीको विवाह समारोहमा सरिक हुन दर्जनौँ साथीभाइ छिमेकका जिल्लाहरूसम्म पुग्ने प्रचलन थियो । कसैलाई समस्या पर्दा तत्काल जम्मा भई समाधान खोज्ने परिपाटी थियो । अलि छरिता समूहहरूको आपसी सम्बन्ध र सरसहयोगको परिपाटीत अनुकरणीय नै लाग्दथ्यो ।एकापसको सम्बन्धमा शतप्रतिशत अनौपचारिकता थियो । मनै देखिको मित्रता छताछुल्ल थियो ।मित्रवत् र सहयोगी भावनाले गर्दा सबैको मन उमङ्ग र उत्साहले भरिपूर्ण हुन्थ्यो ।

गाउँमा हुलाक बाहेक अन्य सञ्चार सुविधाको उपलब्धता थिएन । घाँस दाउरा, सोतर, पानी लगायतको प्रबन्ध गर्न धेरै समय व्यथित गर्नुपर्ने अवस्था थियो । सडक पूर्वाधार र सार्वजनिक यातायातका साधनको अभाव थियो । गुणस्तरीय सार्वजनिक यातायातको सुविधाका सम्बन्धमा अझै पनि प्रश्नहरू अनुत्तरित छन् । केही वर्षपछि सिङ्गो गाउँभरिमा एउटा टेलिफोन लाइन पुगेको थियो । तानसेनस्थित दूरसञ्चार संस्थानको कार्यालयमा लाइन बसेर कम्तीमा मिनेटको पन्ध्र रुपैयाँ तिरेर घरमा समाचार पठाउने अवसर जुर्दा मन यसै फुरुङ्ग बन्थ्यो । काठमाडौँ आएपश्चात् पनि कहिलेकाहीँ संस्थानकै कार्यालय त्रिपुरेश्वर पुगेर फोन सम्पर्क गरेको मानसपटलमा अझै ताजा छ ।

प्रवीणता प्रमाणपत्र तह सकेपछि केही साथीहरू अन्य स्थानका क्याम्पसमा सिफ्ट भए । केही रमणीय प्राकृतिक छटाले भरिपूर्ण तानसेनमै रहे । साजन भने सपनाको सहर काठमाडौँ पुग्यो । समय क्रमसँगै विकसित हुँदै गरेको चेतना स्तरले अभिभावकको सहयोगमा उच्च अध्ययनको विषय, स्थान र क्याम्पस छनोट गर्नेसम्मको अवस्थामा हामी पुगेका थियौँ । स्नातकसम्मको पढाई सकेर राजधानी आउँदा सरकारी सेवामा प्रवेशको लागि घुँडा धसेर अध्ययन गरिरहेका साथीहरू भेटिए । निश्चित शैक्षिक योग्यता हासिल गरिसकेपछि रोजीरोटीको लागि पहल गर्नु स्वाभाविकै हो । हाल कोही सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा कार्यरत रहेका त कोही वैदेशिक रोजगारीमा वा अन्य विभिन्नपेशा व्यवसायमा संलग्न भई क्रियाशील रहेको तथा परिवारप्रतिको जिम्मेवारी निर्वाह गर्दै आइरहेको पाइन्छ ।

साजन काठमाडौँमा स्नातकसम्मको पढाई सकेर स्नातकोत्तर अध्ययन गर्दै गर्दा नेपालको निजामती सेवामा प्रवेश गरेको थियो । त्यो बखत उ निकै उत्साहित देखिन्थ्यो । तीक्ष्ण दिमागको उसलाई सेवा प्रवेश गर्न धेरै सङ्घर्ष गर्नुपरेन । आफ्नो अन्तर्निहित क्षमताको सही ढङ्गले उपयोग गर्ने अवसर मिलेकोमा उ खुसी थियो । केही वर्ष सेवा गरिसक्दा उसमा सुरुवाती उत्साह र उमङ्गको स्तर कमजोर हुँदै गएको थियो । सरकारी कार्य प्रणाली र परिवेशसँग उ भिज्न सकेको थिएन । आफूले सोचेजस्तो क्षमताको भरपुर उपयोगको अवसर उसलाई जुरेको थिएन । उ क्रमशः पेसा परिवर्तन गर्ने वा अमेरिका भासिने सोचमा पुग्यो ।  केही वर्षको अन्तरालमा उसलाई डिभी पर्‍यो । उ विगतको सपनाको सहर काठमाडौँ र अधिकृतको जागिर छोडेर तत्कालको कल्पनाको देश अमेरिका पुग्यो । यहाँको पढाई अमेरिकामा खासै उपयोगी रहेन । उसले सामान्य रोजगारीबाट पेशारम्भ गर्‍यो । कहिलेकाहीँ सम्पर्क हुँदा उसमा जागिर छोडेर भासिएकोमा कुनै पछुतो पाइँदैन । उल्टै क्रमशः अनेक दलदलमा फस्दै गएको सार्वजनिक प्रशासनबाट समयमै अलग भई स्वच्छन्दताको अनुभव गर्न सकेकोमा गर्वानुभुति पो प्रकट गर्ने गर्दछ ।

हाल समय निकै फेरिएको छ । अत्यन्तै दुर्गम र पिछडिएका गाउँ ठाउँमा बाहेक ती दुखका दिनको अनुभव गर्ने अवस्था अब रहेन । सडक सञ्जालले सबै डाँडाकाँडा, टार र बेसीहरू जोडिँदै छन् । घाँस दाउरा र पानीका लागि लाम लाग्नु पर्ने अवस्था बिस्तारै हराउँदै छ । बारी र खेतहरूले हरिया हुन र उत्पादन दिन बिर्सँदै छन् । कृषि कर्ममा लाग्ने युवाहरूको उपस्थिति गाउँमा छैन । राज्यको कल्याणकारी नीतिको लाभ लिने उमेरका बृद्दबृद्दा बाहेकका कम मात्र मान्छेहरू गाउँघरमा भेटिन्छन् । दुर्गम ग्रामीण क्षेत्र रित्तिँदै जाँदा साँच्चिकै सहर, नगरपालिका क्षेत्रभित्रका शहरोन्मुख क्षेत्र तथा मूल सडक छेउका बस्तीहरूमा बसोबास र सामान्य व्यापारिक क्रियाकलाप बढ्दै गएको देखिए तापनि उत्पादनजन्य क्रियाकलाप भने बढ्न सकेको पाइँदैन ।  कोभिडको त्रास घट्दै जाँदा विगतमा जस्तै एयरपोर्टमा लाइन बढेका छन् । भौतिक सुख सयल र प्रतिस्पर्धाका लागि मान्छेहरू प्रयत्नरत छन् । सरकारी सेवा, सामुदायिक संस्था, गैरसरकारी, निजी तथा सहकारी क्षेत्र एवं राजनीतिक संयन्त्रभित्र अनेक तिकडम र प्रपञ्च गर्दै अरूलाई पछारेर आफु अगाडी बढ्न चाहनेको दबदबा छ । हत्याहिंसा, अपहरण, बौद्धिक वा शारीरिक लुटपाटमा नयाँपन देखिँदै छ । सामूहिकताको भावना कमजोर भएको छ । एकापसमा सरसल्लाह र भलाकुसारी हुन छोडेको छ । सार्वजनिक क्षेत्रमा पद सोपान श्रङ्खलामा रहेका पदहरूको मर्यादाको स्तर खस्किएको छ ।कोभन्दा को कम भन्ने भावनाको प्रबलता छ ।

सूचना प्रविधिको अभूतपूर्व विस्तार र बढ्दो प्रयोगले अनेकन् सकारात्मक उपलब्धि हासिल भएका छन् ।इन्टरनेट,मोबाइल तथा विभिन्न सामाजिक सञ्जालको विस्तारले घरको साँघुरो कोठामा बसेर संसार हेर्न, बुझ्न, देख्न र विचरण गर्न सहज भएको छ । स्कुल तथा क्याम्पस पढ्दाका संसारका विभिन्न कुनामा छरिएर रहेका साजन समेतका साथीहरूबिच छिनछिनमा जोडिन र कुरा गर्न सम्भव भएको छ । हत्केलामा सेवा खोजिरहेका नागरिकलाई यसले घरमै बसेर सेवा लिन पाउने वातावरण बनेको छ । सेवा क्षेत्र विस्तार हुँदै गएकोले क्षमतावानको लागि रोजगारी केही सहज बनेको छ । अनेक तनाव र प्रताडनाको अवस्थाबाट केही क्षण उन्मुक्तिको आधार जुरेको छ । विगतमा मन टुटेर वा दुरीको कारणले विच्छेदित हुन पुगेका सम्पर्क पुनः स्थापित गर्न सजिलो भएको छ । औद्योगिक, व्यापारिक, कृषिजन्य तथा अन्य उत्पादनमूलक व्यवसायहरूमा नवीन प्रविधिको प्रयोगको अवसर मिल्दा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने सन्दर्भमा समेत सहजता पुगेको छ ।

अर्कोतर्फ, इन्टरनेट र सामाजिक सञ्जालको दुष्परिणामहरू अनपेक्षित रूपमा देखिँदै छन् । कतिपय असल सम्बन्ध टुटेका त कसैको जीवन नै जोखिममा परेको दृष्टान्त दैनन्दिन बढ्दै छन् । व्यक्तिगत गोपनीयता दुर्लभ बन्दै गएको छ । अनेकन् अनपेक्षित,जघन्य तथा आपराधिक घटना संसारभर घटिरहेकाछन् । पुस्तक र पत्रपत्रिका पढ्ने बानी हराउँदै गएको छ । अग्रजका गुणी वाणी, विद्वानका सद्विचार तथा ज्ञानीहरूका असल धारणा सुन्ने परिपाटी कम भएको छ । सिर्जनात्मकतामा कमी देखिएको छ । बच्चाहरूको मोबाइल लत बढ्न गई पढाइको गुणस्तर खस्किएको छ । उनीहरूमा अरूको नजरबाट टाढिएर बस्ने विकृत बानी झाँगिँदै गएको छ ।

सामूहिकता, आपसिकता र सौहार्दताको अवस्था खस्किएको छ । आफन्त, छरछिमेक, साथीभाइबिचको प्रत्यक्ष भेटघाट र वार्तालापमा कमी आएको छ । एक अर्काबीचमा सुमधुर व्यवहारको कमी पाइएको छ । सामाजिक/सामुदायिक तथा पारिवारिक सम्बन्ध र मित्रहरूबिचको अनौपचारिक सम्बन्धमा विगतको जस्तो मिठास छैन । सबै खालका सम्बन्धहरू देखावटी बन्दै गएका त छैनन् भन्ने आभास मिल्दै छ । अरूको अस्तित्व नामेट पार्न घुँडा धसेर प्रपञ्च गर्ने, हिलो छ्याप्ने र घोचपेच गर्ने प्रवृत्तिमा बढोत्तरी आएको छ । अमेरिका तथा नेपालजस्ता मुलुकमा नै किन नहोस् निर्वाचनजस्ता लोकतान्त्रिक अभ्यासका विधिहरू समेत यसबाट निकै हदसम्म प्रभावित हुने गरेका छन् ।

केही अघिका सम्बन्धका स्वरूप र वर्तमानका सामाजिक, पारिवारिक तथा मित्रवत् व्यवहारको स्तर सम्झिदा मन अमिलो हुन्छ । के सम्बन्धको त्यो स्तरको विगतमा पुनः पदार्पण सम्भव छ ? के हाम्रा विभिन्न खालका सम्बन्धहरूलाई सोही स्वरुपमा क्रियाशील तुल्याउन सकिन्छ त? के हाम्रो देखावटी र प्रदर्शनमुखी हुँदै गएको पारिवारिक तथा सामाजिक व्यवहार परिवर्तन गर्न नसकिने अवस्थामा पुगेको हो ? प्रविधि तथा सामाजिक सञ्जालहरूको उपयोगलाई आवश्यकतामा आधारित तुल्याई खास गरी विद्यार्थी तथा युवा पुस्तालाई अनपेक्षित मानसिक विचरण नगर्न र सत्मार्ग नछोड्न उत्प्रेरित  गर्न नसकिने अवस्था भएको हो ? यस्ता अनेकन् प्रश्न अनुत्तरित देखिन्छन् । साथै, साजनसँगै क्याम्पस सुरु गर्दाको जस्तो उत्कृष्ट आत्मीयता,हार्दिक सम्बन्ध, पारस्परिक सौहार्दता, मनै देखिको निकटता र स्वार्थरहित सम्बन्ध के अब विगतका विषय बन्दै जान थालेका हुन् त भन्ने आभास समेत हुन थालेको छ । ([email protected])

Tags :
प्रतिक्रिया दिनुहोस