सिन्धुपाल्चोक । मतगणनाको विषयमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ ।
दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी फैलिएका छन् ।
हिजो (बुधबार) मतगणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन मतगणना गर्नुपर्ने माग राख्दै काँग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार दुवै पक्षबीचको कटुभावले झडप भएको र सुरक्षाको लागि घटनास्थलमा सुरक्षाकर्मी खटाइएको छ ।
बुधबार घटनास्थलमा प्रजिअ खनाल, निर्वाचन अधिकारीको टोली पुगेर विवाद मिलाएको थियो । सो क्रममा वडामा हराएको तीन मतबारे सहमति गराई मतगणना सम्पन्न गरिएको थियो ।
‘मत गणना पाँचपोखरी थाङपाल गाउँपालिका भवनमा शान्तिपूर्वक भइरहेको छ, यसले त्यहाँ असर नगरे पनि झडपलाई नराम्रो रुप लिन नदिन सतर्कता अपनाइएको हो,’ प्रमुख जिल्ला अधिकारी खनालले भने । उनका अनुसार वडा नं. ५ मा १५ मतान्तरले एमालेका काले गोले विजयी भएका छन् ।
त्यही विषयले यहाँ तनावको स्थिति सिर्जना भएको हो । काँग्रेस क्षेत्र न २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेकाअनुसार आज (बिहीबार) बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका काँग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समूहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरेका थिए ।
त्यसपछि झडपको स्थिति बनेको थियो । पछि काँग्रेसका कार्यकर्ताले एमालेबाट नवनिर्वाचित वडाध्यक्ष गोलेको घरमा ढुंगामुडा र तोडफोड गरेका थिए । एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
‘अहिले झडप धेरै हदसम्म शान्त भइसकेको अवस्था छ, नवनिर्वाचित वडाध्यक्षको घरमा ढुंगामुडा र तोडफोड भएको कुरा छ, ती समूहलाई पनि खोजिरहेका छौँ,’ उनले भने । यसअघि मतदानको दिन यहाँ एमाले, राप्रपा लगायत दलले बुथ कब्जा गरेको आरोप लागेको थियो ।