संसद् अवरोध गर्ने-नगर्नेबारे निर्णय भइसकेको छैन : सुवास नेम्वाङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संसद् अवरोध गर्ने-नगर्नेबारे निर्णय भइसकेको छैन : सुवास नेम्वाङ


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सङ्घीय संसद्‌मा अवरोध गर्ने कि नगर्ने भन्नेबारे नयाँ निर्णय भई नसकेको बताएका छन् ।

उनले पार्टीका शीर्ष नेताहरू संसद्‌मा कसरी प्रस्तुत हुने भनेर निर्णय लिनका लागि परामर्शमा रहेको जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशनको पहिलो बैठक आज (मंगलबार)का लागि बोलाइएको छ ।

२०७८ भदौ यता सङ्घीय संसद्का दुवै सदन अवरोध गर्दै आएको एमालेले नयाँ अधिवेशनमा के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।

नेम्वाङले मंगलबार ३ बजेसम्म निर्णय लिने जानकारी दिए । संसदमा के गर्ने भन्नेबारे टुङ्गोमा पुगिसकिएको छैन । के गर्ने भनेर सल्लाह गरिरहेका छौँ, उनले भने ।

मंगलबार नै मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा भने नेम्वाङले संसद्को अवरोधलाई स्थानीय तहको निर्वाचनसँग जोडेका थिए ।

‘हामी अहिले नयाँ निष्कर्षमा पुगिसकेका छैनौँ । तर हामी छलफलमा पनि छौँ । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ । जनताले एउटा निष्कर्ष दिएका छन् त्यो निष्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भनेका थिए ।

एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याएको र माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन गरिएको भन्दै एमाले संसद्मा अवरोध गर्दै आइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सो विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । उक्त मुद्दा पटक पटक पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस