काठमाडौँ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् ।
उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम् धर्मशालामा तिब्बती धर्मगुरु दलाइ लामासँग भेटवार्ता गर्नेछिन् । भारतबाट उनी नेपाल आउनेछिन् ।
‘मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन’ उनको भ्रमण हुन लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उनले नेपाल भ्रमणबारे अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग कुराकानी गरेकी छन् ।
उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । उनको प्रतिनिधिमण्डलमा यूएसएआईडीको एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछिन्।