मौन अवधिमा माओवादी अध्यक्ष दाहाल माडी गएपछि चितवन एमालेको आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मौन अवधिमा माओवादी अध्यक्ष दाहाल माडी गएपछि चितवन एमालेको आपत्ति


२९ बैशाख २०७९, बिहिबार


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) चितवनको माडी गएपछि मौन अवधिको उल्लङ्घन भएको भन्दै चितवन एमालेले आपत्ति जनाएको छ ।

अध्यक्ष दाहाल भरतपुरका मतदाता हुन् । उनी बुधबारदेखि नै चितवन आएर बसेका छन् । भरतपुर र माडी दाहाल प्रतिनिधि सभा सदस्यमा विजयी भएको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ ।

भरतपुर र माडी दुवै नगरपालिकामा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा मेयर नेकपा माओवादी केन्द्र र उपमेयर नेपाली काँग्रेसले पाएको छ ।

मौन अवधिमा माडी गएर होटलमा कार्यक्रम गरेर नेता कार्यकर्ताहरूलाई भेटेको जानकारी आयो । यो आचारसंहिताको उल्लङ्घन हो, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने ।

माडी नगरपालिकाको माओवादी केन्द्रका नगर समिति अध्यक्ष प्रभुप्रसाद महतोले दाहाल माडी आए पनि मतदाता या कार्यकर्तालाई नभेटेको बताए ।

‘मेयर-उपमेयरका उम्मेदवार र गठबन्धन दलका अध्यक्षसम्मलाई भेटेर होटलमा चिया खाएर फर्कनु भयो । भरतपुर आएर बसेका बेलामा माडी पुगेर फर्कने बाहेक अरू उद्देश्यले आएको देखिएन’, नगर अध्यक्ष महतोले भने ।

चितवन एमालेले बिहीबार प्रेस विज्ञप्ति निकालेर माओवादी अध्यक्ष दाहालसहित चितवनमा मन्त्री उमा रेग्मी र किसान श्रेष्ठ तथा राज्यमन्त्री उमेश श्रेष्ठले पनि मौन अवधिको पालना नगरेर भेटघाटलाई तीव्रता दिएको आरोप लगाएको छ ।

एमालेले दाहालसहित मन्त्रीहरूको गतिविधि छानबिन गरी दोषी देखिए भरतपुर र माडीका उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस