हप्ताको दुई दिन सार्वजनिक बिदाको निर्णय स्वागतयोग्य, निरन्तरतामा चुनौती « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हप्ताको दुई दिन सार्वजनिक बिदाको निर्णय स्वागतयोग्य, निरन्तरतामा चुनौती


२९ बैशाख २०७९, बिहिबार


मानवीय चरित्र नै यही हो जहाँ काम लगाउनेले धेरै दिन काम लगाउन खोज्छन् भने काम गर्नेले बिदा खोज्छन् । यहाँ काम लगाउने र काम गर्ने दुवै पक्ष मानिस हुन् । मानिसमा स्वाभाविक रूपमा शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक भावना लगायतका धेरै पक्षले प्रभाव पारेको हुन्छ । मानिसलाई निर्जीव बस्तु रोबर्ट सँग तुलना गर्न मिल्दैन । त्यसैले काम लगाउने र काम गर्नेहरूको बिचमा लामो समयदेखि चल्दै आएको वर्गीय र मानसिक विवादको समाधान आपसी सम्झौताको माध्यमबाट हुने गर्दछ ।

काम लगाउने र काम गर्नेहरूलाई एउटा मोटरसाइकलको दुई वटा पाङ्ग्रासँग तुलना गरेर हेरौँ । काम लगाउनेलाई मोटरसाइकलको अघिल्लो पाङ्ग्रा र काम गर्नेलाई पछिल्लो पाङ्ग्रा सँग तुलना गरौँ। अघिल्लो पाङ्ग्राले आफूलाई अगुवा र नेतृत्वको रूपमा सोच्न सक्छ ।अघिल्लो पाङ्ग्राले जता जता अगुवाइ गर्छ पछिल्लो पाङ्ग्रा उतै उतै जानुपर्ने हुँदा अघिल्लो पाङ्ग्राले आफूलाई अगुवा र ठालु ठानेको हुन सक्छ। त्यसै गरी पछाडिको पाङ्ग्राको सम्बन्ध इन्जिनसँग जोडिएको हुन्छ र यसले अघिल्लो पाङ्ग्रा भन्दा धेरै भार थामेर अगाडि धकेल्न सक्छ । पछाडिको पाङ्ग्राले धेरै भार थामेर अगाडि नधकेले सम्म अघिल्लो पाङ्ग्रा अगाडि बढ्न नसक्ने भएकोले पछिल्लो पाङ्ग्राले आफूलाई अघिल्लो भन्दा शक्तिशाली हुँ भनेर दम्भ हुन सक्छ ।

अव यात्राको कुरा गरौँ दुवै पाङ्ग्राको सन्तुलित सम्बन्ध कायम नभएसम्म गन्तव्य सम्म पुग्न सम्भव छैन । न अगाडिको पाङ्ग्राले मात्र सम्भव छ, न त पछाडिको पाङ्ग्राले मात्र । यी दुवै पाङ्ग्राको सह-सम्बन्ध र सन्तुलनले मात्र यात्रा सम्भव हुन्छ । यही नियम कुनै पनि सङ्गठनमा काम गर्ने कर्मचारी र काम लगाउने बिचमा लागु हुन्छ । काम लगाउने र काम गर्ने बिचको सह-सम्बन्ध र सन्तुलनले मात्र गन्तव्य(सङ्गठनको उद्देश्य)पुरा गर्न सकिन्छ । काम लगाउने र काम गर्ने यी दुवै पक्ष बिचमा विभिन्न पक्षहरूमा सम्झौता गर्नुपर्ने हुन्छ । तिँ विविध पक्षहरूमध्ये बिदाको सवाल आजको सन्दर्भमा जल्दो बल्दो विषय हो। बिदा सम्बन्धी व्यवस्थाले कर्मचारीको उत्पादकत्व बढाउने र सङ्गठनको उद्देश्य हासिल गर्न टेवा पुग्ने हुन्छ । कर्मचारीलाई दिइने बिदाको सवालमा पनि काम लगाउने र काम गर्ने बिचमा सन्तुलित सम्बन्ध स्थापित भएमा सङ्गठनरूपी मोटरसाइकल सजिलै गन्तव्यमा पुग्न सक्छ ।

वर्तमान युग विज्ञान र प्रविधिको युग हो । विश्वव्यापीकरणको प्रभाव मानिसका हरेक पक्षहरूमा परेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा विकसित भएका नवीनतम मान्यता र परिस्थितिलाई समयानुकूल आत्मसात् गर्दै जानुपर्ने हुन्छ।कर्मचारी र श्रमिकलाई हप्तामा कति दिन सार्वजनिक बिदा दिने सम्बन्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा धेरै बहस हुने गरेको छ ।कर्मचारीलाई सप्ताहान्त दिइने बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास कस्तो छ सो सम्बन्धमा हेरौँ ।

विश्वभरिका श्रमिकहरूको अभिभावकमय भूमिकामा रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले श्रमिकलाई हप्ताको ४० घण्टाको आधारभूत कार्य समय तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा विश्वव्यापी अभ्यासको सम्बन्धमा अध्ययन गर्न मिति २०७८असोज ८ मा गठन गरेको समितिले विश्वका विभिन्न १२७ देशहरूको सार्वजनिक बिदा सम्बन्धमा अध्ययन गरेको थियो ।

अध्ययन गरेका देशहरूमध्ये ११६ देश (करिब ९७%) मा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको, एसियाका ४३ देशको व्यवस्था अध्ययन गर्दा ३८ देश (करिब ८८%) मा हप्तामा दुई दिन बिदा दिने प्रचलन रहेको तथा सार्क राष्ट्रहरूमध्ये नेपाल बाहेक सबै देशमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको भनी प्रतिवेदन पेस गरेको छ । उक्त समितिको प्रतिवेदनले दिएको सुझावलाई आत्मसाथ गर्दै पेट्रोलियम पदार्थ लगायतमा आयात घटाई हालका दिनमा पेचिलो समस्याको रूपमा देखिएको विदेशी मुद्रा सञ्चितिमा परेको दबाबलाई केही हदसम्म कम गरी अर्थतन्त्रलाई सहयोग पुगोस् भन्ने उद्देश्य राखी नेपाल सरकारले आगामी २०७९ जेठ १ देखि लागु हुने गरी हप्तामा दुई दिन (शनिवार र आइतबार) बिदा दिने निर्णय गरेको छ ।

हाल आइतबार देखि बिहीबार सम्म बिहान १० बजे देखि साँझ ५ बजे सम्म प्रति दिन ७ घण्टाका दरले (७*५=३५ घण्टा) र शुक्रवार बिहान १० बजे देखि दिउसो ३ बजे सम्म ५ घण्टा (५*१= ५ घण्टा) गरी हप्तामा जम्मा ३५+५= ४० घण्टा कार्यालय खुल्ने गरेको छ । हप्तामा एक दिन शनिवार सार्वजनिक बिदा दिने गरिएको छ । नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे सँगै कार्यालय समय पनि हेरफेर गरेको छ ।आगामी जेठ १ गते देखि नेपाल सरकारले प्रस्ताव गरेको कार्यालय समयको सन्दर्भमा चर्चा गरौँ । आइतबार देखि बिहीबार सम्म बिहान ९:३० बजे देखि साँझ ५:३० सम्म कार्यालय खुल्ने समय तोकेको छ । प्रतिदिन ८ घण्टाका दरले ५ दिन कार्यालय खुल्ने र हप्तामा जम्मा (८*५= ४० घण्टा) कार्यालय खुल्ने हुन्छ । र हप्तामा दुई दिन ( शनिवार र आइतबार) बिदा हुने गर्छ । यसरी हिसाब गर्दा कार्यालय खुल्ने समयमा कुनै कमी आउने वा नोक्सानी हुने देखिँदैन ।

अब हप्तामा दुई दिन बिदा दिँदा हुने केही सकारात्मक पक्षहरूको सम्बन्धमा चर्चा गरौँ । कर्मचारी (श्रमिक)भनेको मानिस हो । अझ मानिस मात्र नभएर सामाजिक प्राणी पनि हो । उसको परिवार, समाज, इष्टमित्र, संस्कृति, चालचलन, परम्परा सबै हुन्छ ।हप्तामा दुई दिन बिदा दिँदा सरसफाइ, पारिवारिक भेटघाट, मनोरञ्जन, आराम, बजारको किनमेल, बच्चाबच्चीलाई समय दिने लगायतका कामहरू गर्न धेरै हदसम्म सहज हुन्छ । पारिवारिक सामिप्यता बढ्ने, तनाव व्यवस्थापन(स्ट्रेस म्यानेजमेन्ट), काम र व्यक्तिगत जीवन बिचको सन्तुलन (वर्क-लाईफ ब्यालेन्स) मा सघाउ पुग्ने हुँदा कर्मचारीमा उत्साह एवम् पुनर्ताजगी आई उत्पादकत्व(प्रोडक्टीभिटी)वृद्धि हुन सक्छ । बिदाको दिनमा कार्यालयको साधन श्रोत ( बिजुली, पानी, इन्धन आदि) को प्रयोगमा कमी हुन गई कार्यालय सञ्चालन खर्च न्यून गर्न पनि सहयोग पुग्दछ ।

हप्ताको दुई दिन बिदा उपभोग गरेबापत कर्मचारी कति ईमान्दार र लगनशील हुनुपर्छ भन्ने सम्बन्धमा चर्चा गरौँ । हप्ताको दुई दिन बिदा दिने प्रचलन वि.सं. २०५६ सालमै परीक्षणको रूपमा काठमाडौँ उपत्यकामा लागु भएकोमा पछि उक्त व्यवस्था हटाइयो । के कुन कारणले हटाइयो भन्ने सम्बन्धमा त्यसको अध्ययन भएको चाहिँ पाइँदैन । त्यसको करिब दुई दशक भन्दा बढी समय पश्चात् हप्तामा दुई दिन बिदा दिने निर्णय भएको छ । हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले आम कर्मचारी वर्गमा पक्कै पनि उत्साह प्रदान गर्ने नै हुन्छ ।

वर्तमान समयमा कर्मचारी वर्गमा लाग्ने गरेको एउटा आरोप हामी सामु जगजाहेर नै छ, त्यो हो कर्मचारी ढिलो कार्यालय जाने र छिट्टै फर्कने । हाल कायम रहेको १० बजे देखि ५ बजे सम्म कार्यालय खुल्ने समय हुँदा प्रायजसो कार्यालयमा सबै कर्मचारी जम्मा हुँदा बिहान लगभग १०:३० बज्ने र बेलुका पनि छिट्टै घर निस्कने भन्ने नमिठो गुनासो कर्मचारीहरूमाथि लाग्ने गरेकोमा सो आरोप चिर्नुपर्ने अभिभारा पनि कर्मचारीमा रहेको छ ।

आगामी जेठ १ गते देखि बिहान ९:३० देखि कार्यालय खुल्दा कर्मचारीले आफ्नो पुरानो प्रवृत्ति देखाउने र १० बजे सम्म कार्यालय पुग्ने हो की भन्ने संशय आम जनमानसमा रहेको देखिन्छ । कर्मचारीहरूमा ढिलो कार्यालय जाने पुरानै प्रवृत्तिले निरन्तरता पायो भने राज्य र आम नागरिकहरूमाथि अन्याय हुन जान्छ। केही पाउन केही गुमाउनुपर्छ भन्ने सामान्य चलनचल्तीको सिद्धान्तलाई पनि यहाँ बिर्सनु हुँदैन । हप्तामा दुई दिन बिदा उपभोग गर्ने सुविधा पाउनको लागि बाँकी पाँच दिन बिहान ९:३० देखि ५:३० सम्म लगनशील र ईमान्दार भएर काम गर्नुपर्ने दायित्व कर्मचारीबाट अपेक्षा गरिएको हुन्छ ।

हालको एउटा रुटिनमा चलिरहेको जीवनपद्धतिलाई बिहान आधा घण्टा छिटो र साँझमा आधा घण्टा ढिलो हुने गरी नयाँ रुटिनमा आफूलाई अभ्यस्त गराएर कार्यालय समयप्रति ईमान्दारीता र लगनशीलता देखाउने हो भने राज्य, आम नागरिक र कर्मचारी सबैको जित हुनेछ । हप्तामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाको सफलता कर्मचारीको ईमान्दारीता र लगनशीलतामा निर्भर रहन्छ अन्यथा एक चोटि फेल भैसकेको व्यवस्था फेरी पनि फेल हुँदैन भन्न सकिँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस