नमुना पालिका मध्यपुर थिमि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नमुना पालिका मध्यपुर थिमि


२५ बैशाख २०७९, आइतबार


भक्तपुर । क्षेत्रफलका हिसाबले नेपालकै सानो जिल्ला हो, भक्तपुर । यस जिल्लामा रहेका चार नगरपालिकामध्ये एक हो, मध्यपुर थिमि नगरपालिका । ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ नारा बोकेको यस नगरपालिकाले केही नमुना कामहरूको थालनी गरेको छ, जुन अन्य स्थानीय तहहरूका लागि पनि सिकाइको विषय बन्न सक्छ ।

बागमती प्रदेश अन्तर्गतको भक्तपुर सानो र सुन्दर जिल्ला हो । वि.सं. २०५३ साल चैत्र १४ गते तत्कालीन बोडे, नगदेश, चपाचो, बालकुमारी र दिव्यश्वरी गाउँ विकास समितिहरूलाई एक आपसमा गाभेर मध्यपुर थिमि नगरपालिकाको गठन गरिएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रूपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा थिए । नयाँ संविधानको प्रावधान बमोजिम स्थानीय तहको रूपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ ।

यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौँ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यबिनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् ।

११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुन्द्री सतहबाट १३२६ मिटरको उचाइमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग कि.मि.) ९.६ प्रतिशत भूभाग ओगटेको छ । यो शहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्व प्रसिद्ध छ । समशीतोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गर्दछ । नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ ।

फोहोर व्यवस्थापनमा मध्यपुरले थालेको नमुना काम
घरबाट निस्कने फोहोर व्यवस्थापन निकै चुनौतीको विषय हो । राजधानीवासीले भोग्नु परेको विकराल समस्या हो, फोहोर व्यवस्थापन । मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई मोहोरमा परिणत गरेको छ । जापानी प्रविधिबाट बिना रसायन कुहिने फोहोरलाई स्थानीय स्तरमा प्राङ्गारिक मल उत्पादन गरीँदै आएको छ ।

मध्यपुर थिमिनगरपालिका–४ स्थित विष्णु कुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिका प्रयोगमार्फत कम्पोस्ट मल उत्पादन केन्द्र सञ्चालनमा आएको छ । एक किलो फोहोरबाट एक किलो प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य लिएर काम हुँदै आएको छ । प्रतिकिलो मल ५० रुपैँयामा धमाधम बिक्री भइरहेको छ ।

विगत दुई वर्षअघि सुरु गरिएको जापानी कम्पोस्ट प्रविधिबाट बनाइएको प्राङ्गारिक मलको फोहोर व्यवस्थापन अहिले सफल साबित भएको छ । नगरपालिकाको आर्थिक लगानी र रिकिसि प्रा.लि.को प्राविधिक सहयोगमा अर्ग्यानिक मल उत्पादन हुँदै आएको छ ।

राष्ट्रपति कार्यालयको बगैँचामा थिमीको फोहोरबाट उत्पादित मल प्रयोग
राष्ट्रपति कार्यालयले आफ्नो परिसरको बगैँचामा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले फोहोरबाट उत्पादन गरेको मल प्रयोग गर्दै आएको छ । जापानी प्रविधिबाट उत्पादन गरिएको कम्पोस्ट मल दुषितरहित भएको प्रमाणित भएपछि राष्ट्रपति कार्यालय उक्त मल प्रयोग गर्दै आएको हाे ।

जापानको टोबा सहरसँग भगिनी सम्बन्ध कायम गरेको मध्यपुर थिमि नगरपालिकाले थालेको यो नमुना काम अन्य स्थानीय तहका लागि उदाहरणीय बन्न सक्छ । यति बेला मध्यपुर थिमि नगरपालिकाले उत्पादन गरेको मलको सफल उदाहरणलाई चितवनको राप्ती नगरपालिकाले पनि पछ्याएको छ । काठमाडौँको कागेश्वरीमनोहरा नगरपालिका, गोकर्णेश्वर र भक्तपुरको सूर्य विनायक नगरपालिकालेसमेत सोही प्रविधिबाट मल उत्पादन गर्नका लागि प्रारम्भिक योजना बनाई सकेका छन् ।

घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्न कठिनाइको विषय बन्ने गरेको छ । शहरबासीको लागि झन् टाउको दुखाइको विषय बनेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ भनेर प्रमाणित गरिसकेको छ । यसरी उत्पादित मलको उच्च माग आइरहेको रिकिसि प्रा.लि. की प्रबन्ध निर्देशक उषा गिरीले बत्ताइन् ।

‘नेपालजस्तो कृषिप्रधान र सहरोन्मुख देशमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन वरदान साबित भएको छ ।’ प्रबन्ध निर्देशक गिरीले भनिन् । दस वर्षसम्म जापानमा मल उत्पादन सम्बन्धी अध्ययन र अनुसन्धान गरेकी गिरीले यो प्रविधि अपनाएमा कुहिने फोहोर खेर फ्याक्नै नपर्ने बत्ताइन् ।

मल उत्पादनका लागि आवश्यक सबै भौतिक संरचना मध्यपुर थिमी नगरपालिकाले निर्माण गरेको हो । मल विक्रीबाट प्राप्त नाफाको १५ प्रतिशत रकम कम्पनीले नगरपालिकालाई प्रदान गर्नुपर्ने सम्झौता छ । अहिले वार्षिक दश टन मल उत्पादन हुने गरेको छ । नगरपालिकाका अनुसार यसरी उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको छ । यस वर्षभित्रै पाँच हजार घरपरिवारलाई सदस्य बनाउने नगरपालिकाको योजना छ ।

यसरी उत्पादन हुन्छ फोहोरबाट मल
सुरुमा ढुटो, झरेको पात, रातो माटो र भूस मिश्रण गरिन्छ । यसलाई जापानी भाषामा टोकोजाइ भनिन्छ । टोकोजाइमा भूस र ढुटोले नाइट्रोजनको काम गर्छ भने झरेको पातले ब्याक्टेरियाको र रातो माटोले मिनिरलको काम गर्छ ।

नगरपालिकाले घर–घरमा वितरण गरिएको बाल्टिनमा फोहोर र टोकोजाइलाई मिसाइन्छ । फोहोरको गन्ध नआओस् भनेर टोकोजाइसँग मिसाएको फोहोरलाई एक हप्तासम्म राखिन्छ । एक हप्तापछि नगरपालिकाको गाडीले घरघरमा पुगेर फोहोर सङ्कलन गरी वडा ४ स्थित विष्णुकुण्ड क्षेत्रमा ल्याइन्छ । सो मललाई दुई हप्तासम्म छोपेर राखिन्छ । मलको तापक्रम ६० देखि ७० डिग्री पुगेपछि मल पल्टाएर राख्नुपर्छ  । ६० देखि७० डिग्री तापक्रमले फोहोरमा भएका नराम्रा कीटाणु आफै मर्ने र आवश्यक कीटाणु मात्र बाँकी रहन्छ । त्यसपछि मल चालेर प्याकेजिङ गरेपछि विक्रीका लागि बजारमा पठाइन्छ ।

मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपालकै नमुना अस्पताल
मध्यपुर थिमि नगरपालिकाले सञ्चालनमा ल्याएको नेपाल कोरियामैत्री अस्पताल नेपालकै नमुना अस्पताल हो । नेपालका विकट क्षेत्रबाट उपचारका लागि आउने बिरामीहरूलाई आर्थिक अवस्था कमजोर भएमा २० प्रतिशत, ५० प्रतिशत छुट दिने गरिएको छ । कतिपय रोगको उपचारका लागि भारतबाटसमेत बिरामीहरू आउने गरेको अस्पतालका प्रशासकीय अधिकृत रुपेश श्रेष्ठले बताए । हाल स्त्री तथा प्रसूति, बालरोग, मुटु, हाड जोर्नी, नाक, कान, घाँटीलगायतका रोगको उपचारका साथै चौबिसै घण्टा आकस्मिक तथा एम्बुलेन्स सेवा, शल्यक्रिया लगायतका सेवा उपलब्ध गराऊँदै आएको छ । हाल बहिरङ्गतर्फ झन्डै २ सय तथा अन्तरङ्गमा करिब ४० शय्या भरिने गरेको छ ।

दक्षिण कोरियाको क्योंहि इन्टरनेशनल मेडिकल कोअपरेशनमार्फत सन् १९९९ मा स्थापना भएको ‘कोरिया नेपाल मैत्री स्वास्थ्य केन्द्र’ मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेपछि सन् २००९ मा ‘कोरिया नेपाल मैत्री अस्पताल’को नाममा सञ्चालित थियो । नगरपालिकाले यसको नाम ‘कोरिया नेपाल मैत्री अस्पताल’बाट ‘नेपाल कोरिया मैत्री अस्पताल’ मा परिवर्तन गरेको थियो ।

अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कर्मचारीलाई उपचार सेवा दिइने गरी केन्द्रीय रेफरल अस्पतालको रूपमा विकास गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. दीपेन्द्रकुमार रौशनले जानकारी दिए । अस्पतालले नर्सिङ विषयको अध्यापनको समेत तयारी गरिरहेको छ ।

अस्पताल सञ्चालनका लागि हाल मध्यपुर थिमि नगरपालिकाबाट वार्षिक १८ लाख बजेट निकासा भइरहेको छ । यस्तै दक्षिण कोरियाको रोज क्लबबाट मासिक एक हजार अमेरिकी डलर सहयोग आइरहेको छ । इपीएस प्रणालीमा कोरियामा काम गर्न जाने नेपालीको स्वास्थ्य परीक्षणबापत वार्षिक रूपमा पाउने शुल्क करिब एक करोड रुपैंयाँ रहेको छ ।

छारे रोगको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको यो अस्पतालमा एक वर्षको अवधिमा ७९१ जना छारे रोगीको उपचार गरिएको वरिष्ठ छारे रोग विशेषज्ञ समेत रहेका निर्देशक डा. रौशनले बताए । हाल अस्पतालमा १ सय २ वटा बेड छन् । २६ चिकित्सकका साथै स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी गरी ३६५ जना कार्यरत छन् ।

कोइकाले अस्पताल बिस्तारका लागि १ अर्ब ५ करोड रुपैंया बराबर बजेट छुट्याईसकेको छ । अस्पतालको क्षमता अभिवृद्धि गर्ने यो परियोजना सन् २०२२ बाटै सञ्चालनमा आऊँछ । यो पाँच वर्षको योजना रहेको छ ।

अन्य नमुना कामहरू
मध्यपुर थिमि नगरपालिकाले आफ्नो क्षेत्रभित्र बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि बेग्लै पार्क बनाएको छ । त्यसबाहेक १२ वटा पार्कहरू निमार्ण गरेको छ । यस वर्ष माघसम्म मात्रै १ सय ९० वटा योजना सञ्चालन भए । जसमध्ये ४६ वटा सम्पन्न भई सकेका छन् । नगरपालिकाका अनुसार बाँकी योजना पूरा गर्न ६९ करोड ४० लाख रुपैंयाँ लागत अनुमान छ ।

मन्दिर, पार्क, बुद्ध विहार, पोखरीलाई संरक्षण गर्नुका साथै कतै पुनःनिमार्ण पनि गरिएको छ । लोकन्थलीको बिपी पार्क नमुना बनाइएको छ । हरेक वडामा कुचो बढार्ने मानिस पनि राखिएको छ ।

मध्यपुरले पाएको अवार्ड तथा सम्मान
मध्यपुर थिमि नगरपालिका युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयबाट एसियन टाउनस्केप अवार्डबाट सम्मानित भइसकेको छ । बर्सेनि युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले प्रदान गर्दै आएको सम्मान पाउने मध्यपुर थिमी नगरपालिका अहिलेसम्म नेपालकै एक मात्र नगरपालिकामा दर्ज भएको छ ।

बढ्दो शहरीकणसँगै धेरै खालका समस्याहरू थपीँदै गए । परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्रप्रति सबैको बेवास्ता हुँदै गयो । यस्ता क्षेत्रको संरक्षणको काम गर्दै प्रगति हासिल गरेका एसियाली सहरहरूलाई यस्तो पुरस्कार दिईँदै आएको छ । सहरी क्षेत्रकाे विकासमा सक्रिय भएबापत र ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको सफलतालाई मापन गर्दै यस नगरपालिकालाई उक्त पुरस्कार प्रदान गरिएको हो । हरेक वर्ष युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले एसियन टाउनस्केप अवार्ड प्रदान गर्दै आएको छ ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनः निर्माणमा पाएको सफलतालाई आधार मान्दै मध्यपुर थिमि नगरपालिका एसियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको हो । सहरी क्षेत्रको विकासमा सक्रिय युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगस्टसम्म भएको प्रगतिको समीक्षा गर्दै सो पुरस्कार प्रदान गरेको हो । यो पुरस्कार पाउनमा उपभोक्ता समिति, नगरपालिका परिवारका साथै सम्पूर्ण थिमीवासीको ठुलो हात रहेको निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठले बताए ।

आफूले नगरप्रमुखको जिम्मेवारी सम्हालेपछि पोखरी ५, विहार २, ढुंगेधारा २०, पाटी २५, इनार ८ र पार्क २ वटा निर्माण तथा जीर्णोद्धार गरेको श्रेष्ठले बताए ।

एसियाका स्थानीय सरकारहरू, विभाग, सहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरू, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञ लगायतको प्रतिस्पर्धाबिच मध्यपुर थिमि नगरपालिका उत्कृष्ट भएको हो । मध्यपुरसँगै दक्षिण कोरियाका ४, जापानका ३, चीनका २ तथा मलेसिया, नेपाल र थाइल्यान्डका एक–एक वटा नगरपालिकाबाट सम्मानित भएका छन् । मध्यपुरको कला, संस्कृति र सम्पदाको विकास एवं पुनर्निर्माण गर्न नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

पर्यटनका लागि ठुलो सम्भाव्यता बोकेको मध्यपुर थिमि
मध्यपुर थिमि नगरपालिकामा घुम्न र हेर्न लायक थुप्रै स्थानहरू छन् । मनोहरा र हनुमन्ते नदी यहाँ“का आकर्ण हुन् । मनोहरा नदी मणिचुडबाट निस्केर शाली नदी हुँदै काठमाडौँ र भक्तपुर जिल्लाको सिमानातिर बग्ने गर्छ । जुन मध्यपुर थिमि नगरपालिकाको उत्तर पश्चिम सिमाना भएर बग्दछ । यो नदीमा हनुमन्ते खोला मिसिएपछि बाग्मती नदीमा मिसिन्छ । यसले काठमाडौँ, भक्तपुर र मध्यपुर थिमि नगरपालिका क्षेत्रमा सिँचाइ सुविधा पु¥याउनुका साथै जल प्रवाह गर्छ ।

यस नगरपालिकामा प्रशस्त धार्मिक तथा ऐतिहासिक स्थलहरू छन् । तीमध्ये निलबाराही, महालक्ष्मी मन्दिर, कुमारीको मन्दिर, सिद्धि गणेश मन्दिर, विश्व विनायक मन्दिर, सिद्धि काली मन्दिर, दिगु भैरव मन्दिर, राज गणेश मन्दिर, स्वेतभैरव मन्दिर, गुरु गणेश, लोकेश्वर मन्दिर, थासोमा गणेश मन्दिर, बालकुमारी मन्दिर, ताहानारायण मन्दिर, विष्णुवीर मन्दिर, वामुने गणेश मन्दिर, प्रथम गणेश, नगदेश बुद्ध विहार, पाटी बिहार, धर्मचक्र गुम्वा, शिवा गणेश मन्दिर, विश्वेश्वर महादेव, सिलेश्वर महादेव, शोणे कामदेव मन्दिर, निलवर्ण गणेश मन्दिर, महालक्ष्मी मन्दिर, भवानी शङ्कर मन्दिर, दिव्यश्वरी मन्दिर, नित्य नाथ मन्दिर, आकाश भैरव मन्दिर, वसुन्धरादेवीको मन्दिर, नारायण मन्दिर, तछ्छु गणेश मन्दिर, अजिमाद्यो मन्दिर, इन्द्रायणी वम्हायानी मन्दिर, गोरखनाथ मन्दिर, हरिसिद्धि मन्दिर, तलेजु भवानी मन्दिर, कुशल भैरव मन्दिर, नवदुर्गा भवानी मन्दिर, नाट्यश्वरी मन्दिर, विन्दवासिनी मन्दिर, कुकीइनाय गणेश मन्दिर, सूर्य विनायक मन्दिर, भक्ति मन्दिर श्यामाश्याम धाम राधे राधे मन्दिर, शंखधर साख्वाचोक रहेका छन् ।

यस नगरमा विभिन्न जात्राहरू मनाइन्छ । तीमध्ये बिस्केट जात्रा, जिब्रो छेड्ने जात्रा, गाईजात्रा, इन्द्रजात्रा, खड्ग जात्रा, दिपंकर जात्रा र पुलुकिसि जात्रा प्रमुख हुन् । यस्तै महाकाली नाच, भैरव नाच, निलबाराही गण नाच, इन्द्र अप्सरा नाच, हनुमान नाच, अष्टमात्रिका नाच, मयुर नाचहरू यहाँका प्रमुख नाँचहरु हुन ।

यस नगरपालिकाको साक्षरता प्रतिशत ९८ रहेको छ । नेवारहरूको बाहुल्यता रहेका यस नगरमा क्षेत्री, बाहुन, राई, मगर, दमाई, सार्की लगायत जातजातिको पनि बसोबास छ । मध्यपुर थिमिश्रृजना र शिल्पीहरूको सहरका रूपमा परिचित छ । यहाँका अधिकांश जनता कृषि पेसामा संलग्न छन् । यहाँ मौसम अनुसारका हरियो तरकारी र फलफूल उत्पादन हुन्छ ।

विभिन्न आकार प्रकारका माटाका भाँडाँकुँडाहरु यहाँ किन्न सकिन्छ । घरेलु उपयोग र सजावटका लागि माटाका यस्ता भाँडाँकुँडाहरु प्रयोग गर्न सकिन्छ । हरियो साग सब्जी बाहेक धान, मकै, गहुँ, आलु प्रमुख बालिहरु यहाँका प्रमुख उब्जनी हुन् । मध्यपुर थिमि नगरपालिका खुला दिशामुक्त, पूर्ण खोप र पूर्ण साक्षर नगरपालिका घोषणा भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस