काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुरु भएको छ ।
बुधबार विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि अवरुद्ध भएको आन्तरिक उडान सेवा पुनः सुरु भएको हो ।
बुधबार बिहान विदेशबाट एक अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ ठाउँमा बम राखेको सूचना दिएपछि आन्तरिक उडान–अवतरण सेवा करिब १ घण्टासम्म अवरुद्ध भएको थियो ।
बम रहेको सूचना पाएपछि विमानस्थल प्रशासन र सुरक्षाकर्मीहरूले विमानस्थल क्षेत्रको जाँच गरेका थिए । जसमा कुनै पनि शङ्कास्पद वस्तु नरहेको प्रमाणित भएको छ ।