नियमित विद्युत् आपूर्ति नहुँदा रुपन्देहीका १५ हजार उद्योग समस्यामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नियमित विद्युत् आपूर्ति नहुँदा रुपन्देहीका १५ हजार उद्योग समस्यामा


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । अनियमित विद्युत् कटौतीले रुपन्देहीमा सञ्चालन भएका करिब १५ हजार उद्योगहरू नियमित सञ्चालन हुन सकेका छैनन् । विद्युत् आपूर्ति नियमित नहुँदा उत्पादनमा कमी र लो भोल्टेज र ट्रिपिङका कारण महँगा प्राविधिमा जोडिएका मेशिनरी सामानहरूमा असर परेको उद्योगीहरूको गुनासो छ ।

एक महिनादेखि विद्युत् आपूर्तिमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेजका कारण रुपन्देही आसपासका उद्योग प्रतिष्ठानहरूमा समस्या उत्पन्न भएको भन्दै उद्योगी व्यवसायीका विभिन्न सङ्घसंस्थाहरूले विद्युत् प्राधिकरणका कार्यालयहरूमा पटक पटक ध्यानाकर्षण गराएका छन् ।

रुपन्देही उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ बुटवल र सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर धेरै पटक ध्यानाकर्षण गराउने काम गरे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको उनीहरूको गुनासो छ ।

करिब एक महिनादेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको छ । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी कोरिडोर क्षेत्रसहित जिल्लाका उद्योगहरूमा विद्युत् आपूर्ति बन्द भएकाले समस्यामा परेका छन् ।

औद्योगिक उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उद्योगी व्यवसायी निराश भएका रुपन्देही उद्योग सङ्घका पूर्व अध्यक्ष बाबुराम बोहोराले बताए ।

प्राधिकरणको नेतृत्वको असक्षमताका कारण पटक पटक उद्योगीहरूले पीडा भोग्नु परेको र विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित भएको बोहोराको भनाई छ । विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरू बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार बन्न नसकेको गुनासो उनीहरूको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले अनियमित विद्युत् आपूर्तिले उत्पादनमा कमी, यन्त्र उपकरण बिग्रिने, कच्चा पदार्थको बेस्टेज बढ्ने र जसका कारण उत्पादन लागत बढ्ने बताउँदै समस्या समाधानको लागि समेत प्राधिकरण र मातहतका कार्यालयहरूमा आग्रह गरिएपनि समाधान नभएको बताए । उनले सरकारले हालै मात्र आयात कमी गर्ने नीति लिएको सन्दर्भमा विद्युत्का कारण औद्योगिक उत्पादनको लागत बढ्ने र पेट्रोलियम पदार्थको उपभोग बढ्ने भएकोले समग्र अर्थतन्त्रमा समेत असर पुग्ने देखिएको बताए । उनले औद्योगिक उत्पादनलाई सहज गर्न र अर्थतन्त्रलाई थप असर पर्न नदिन विद्युत् आपूर्तिलाई नियमित गर्न माग गरिएको बताए ।

विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी कोरिडोरका मात्रै १२ वटा सिमेन्ट र अन्य ठुला उद्योगको उत्पादन ठप्पजस्तै भएका छन् ।

अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन ।

अनियमित विद्युत् आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषित रूपमा २४ घण्टा विद्युत् कटौती गर्दा ठुला उद्योग सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।

उद्योगीहरूले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग पटक पटक आग्रह गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन ।

करिब दुई सातायता विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गानाको भनाइ छ ।

सिमेन्ट उत्पादनका लागि उपयुक्त समयमा यस्तो भएपछि कसरी भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्ने ? अब भारतीय सिमेन्टले बजार लिन्छ । हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ– ढुङ्गानाले भने ।

उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैङ्कको ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको उनीहरूको गुनासो छ ।
विद्युत् प्राधिकरणले समय तालिका बनाएर उद्योग क्षेत्रको विद्युत् आपूर्ति नियमित गर्नुपर्ने माग उनीहरुकोे छ ।

आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए उद्योगमा ताला लगाएर सडकमा आउनुपर्ने अवस्था रहेको रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । उद्योगी व्यवसायीको साझा संस्था समेत रहेको सङ्घमा जिल्लाका उद्योगीले अघोषित विद्युत् कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत् सप्लाई गर्न माग गरेका छन् । ३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत् कटौती हुन थालेपछि उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँ मिललाई समेत सिद्धार्थ उद्योग वाणिज्य सङ्घले ध्यानाकर्षण गराएको छ ।

उत्पादनजस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत् आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन सङ्घको आग्रह छ ।

विद्युत् प्राधिकरणले भने नेपाल सरकारले भारतीय सरकारसँग लिएको विद्युत् रोकिएपछि यस क्षेत्रमा विद्युत् आपूर्ति अनियमित भएको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका वितरण प्रमुख अवधेशकुमार दुवेले केही दिनदेखि सुख्खा यामका कारण जलविद्युत आयोजनाको जलाशय घटनाले उत्पादनमा कमी आएको र भारतमै पनि विद्युत् कमी भएकाले आयात गर्न नसकिँदा अभाव हुन गएको बताए । शनिवारदेखि भने विद्युत् आपूर्तिमा केही सुधार आएको दाबी उनले गरेका छन् ।

प्राधिकरणका प्रदेश प्रमुख निर्देशक ई।नवराज ओझाले विद्युत्को उत्पादन र आयातमा आएको समस्याका कारण वितरणमा समस्या देखिएकाले समाधानका लागि पहल भइरहेको बताए । समय तालिका बनाएर विद्युत् वितरण गर्न वा उद्योगमा विद्युत् प्रवाह गर्न प्राविधिक टोलीसँग परामर्श गरी तत्काल उपाय खोज्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस