पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले आफ्नो घोषणापत्र तथा प्रतिबद्धता सार्वजनिक गर्ने कार्यक्रम स्थल बाहिर नेपाली काँग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
पोखराका विभिन्न वडामा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा लागिसक्दा पनि भागबन्डामा अर्कालाई दिन लागिएको भन्दै उनीहरूले कार्यक्रम स्थलको गेटमा ताला लगाएका हुन् ।
पोखरा महानगरपालिकाको वडा नं. १८, २४, २२ नेकपा माओवादी केन्द्रलाई दिन लागिएको भन्दै काँग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन् । काँग्रेस कार्यकर्ताले कार्यक्रम स्थलमा नै ताला लगाइदिएपछि २ बजे भनिएको गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु हुन सकेको छैन ।
पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि पोखराका काँग्रेस कार्यकर्ता शीर्ष नेतृत्वप्रति आक्रोशित थिए । अब ३ वटा वडा पनि माओवादीलाई दिन लागेपछि उनीहरू झनै आक्रोशित भएका छन् ।