काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहमा उम्मेदवारी दर्ता भइसकेपनि तालमेल नभएका ठाउँमा बुधवारै छलफल गरी समझदारीको वातावरण बनाउन निर्देशन दिएको छ ।
शीर्ष नेताहरूले गठबन्धन दलबाहेक अन्य दलसँग कहीँ कतै तालमेल भएको भए त्यस्तो तालमेल समेत तत्काल खारेज गर्न निर्देशन गरेका छन् ।
‘गठबन्धनका दलहरूका बिचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरूमा समेत आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने, र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने,’ गठबन्धनले निर्देशन गरेको छ ।
बैठकपछि काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन गरेका हुन् ।
‘गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने,’ पाँच दलका प्रमुखहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ