काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक अझै सुरु भएको छैन । आज दिउँसो ३ बजे बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने गरी बैठक आह्वान गरिएको थियो ।
डेढ घण्टा ढिलो भइसके पनि बैठक सुरु भएको छैन । अध्यक्ष ओली निवासमै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत स्थानका नेताहरूसित छलफलमा व्यस्त छन् । ओलीकै व्यस्तताले बैठकमा ढिलाइ भएको हो ।
विभिन्न पालिकामा उम्मेदवार चयनमा उत्पन्न विवाद मिलाउन ओलीले प्रदेशका पदाधिकारी र नेताहरूसित छलफल गरिरहेका छन् । नेताहरूको बालकोटमा आउजाउ भइरहेको छ ।
आजको सचिवालय बैठकबाट महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने तयारी छ । उम्मेदवार टुङ्गो लगाएर उनीहरूलाई टिकट वितरण गरिनेछ ।
दलहरू यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज वा भोलिसम्ममा उम्मेदवार टुङ्गो लगाउर्नेपर्ने दबाबमा छन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ ।