दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् ।
घाइते मध्ये एक जना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका थिए ।
उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । प्रहरीका अनुसार लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् ।
उनको टाउकोमा गहिरो चोट लागेको छ । त्यस्तै सोही बस्नै ३३ वर्षीय अरसद अलि, शववीर अलि, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अलि, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अलि, ४२ वर्षीय मोहम्मद याकदिन अलि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको बताइएको छ ।