घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलहरूलाई निर्वाचन घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि दलहरूले घोषणापत्र जारी गर्नेक्रम सुरू भएकै बेला विज्ञप्तिमार्फ हरेक राजनीतिक दलको प्रतिज्ञापत्रको रुपमा जारी हुने निर्वाचन घोषणापत्र वा प्रतिबद्धता पत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनको विषय समावेश गर्न आग्रह गरेको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् , ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई विशेष आग्रह गर्दछ ।’

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दलको काम, कर्तव्य र अधिकारअनुरुप पनि दलहरुले आफ्ना क्रियाकलापलाई मानव अधिकारमैत्री बनाउनुका साथै घोषणापत्रमा समेत मानव अधिकारका विषयवस्तु समावेश गर्नुपर्नेमा जोड दिएको छ ।

‘नागरिकको अधिकार सुनिश्चितताका लागि संविधानले विभिन्न १२ वटा नीतिहरू अवलम्बन गरेको हुँदा मानव अधिकार र मौलिक हकका साथै त्यस्ता नीतिहरुको समेत कार्यान्वयनको दायित्व राज्यको हुन्छ,’ आयोगले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस