काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।
सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौँ क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।
‘नेपाली काँग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुहुन्न । बरु निर्वाचन मा हारे हारौँला ,हारजित हुन्छ तपाईँहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले कार्यकर्तालाई निर्देशन दिए ।
उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए ।
केन्द्रको घोषणा पत्र नकुर्न भन्दै थापाले भने, ‘विस्तृत कार्ययोजनासहित कार्यतालिका बनाएर अघि बढ्नुस् । सक्नुहुन्छ उम्मेदवार टुङ्गो गरिहाल्नुस् ।’
उनले आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न पनि निर्देशन दिएका छन् ।