काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल-भारत भित्रका ग्राहकहरूलाई क्युआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली.) सँग सम्झौता गरेको छ ।
यससँगै ग्लोबल बैंकको मोबाइल बैङ्किङ एप गुगल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्युआर मार्फत भारत पे, गगल पे, पेटिएम लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।
सेवा सञ्चालनमा आएपश्चात्, यस सुविधाबाट नेपाल र भारतबिचको क्रस बोर्डर(सीमा वारपार) भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारत पे, गुगल पे, पेटिएम आदीबाट नेपाली र भारतीय व्यापारीबिच क्युआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरूलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
त्यसै गरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरूबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन् । यसले क्रस बोर्डर रेमिटेन्स व्यवसायलाई समेत बढवा दिनेछ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८९ शाखा, २५४ एटिएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।