सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्यो


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ ।

सुरुङमार्ग निर्माणका लागि गत साता चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ’सँग ठेक्का सम्झौता गरिएको हो ।

ठेक्का सम्झौता भएसँगै चिनियाँ कम्पनीलाई वातावरणीय अध्ययन र सुरुङको विस्तृत डिजाइनका लागि ९ महिनाको समय दिइएको छ ।

ठेक्का सम्झौता गरिएको चिनियाँ कम्पनीले सुरूङमार्गको डिजाइन र वातावरणीय अध्ययन गरेपछि सुरुङ छेड्ने काम सुरु गर्ने छ ।

बुटवल तल्लो सिद्धबाबादेखि दोभानसम्मको करिब ५ किलोमिटर सडकको माथिल्लो भागमा कमजोर र पत्रे चट्टान सहितको पहाड रहेको छ ।

कमजोर र पत्रे चट्टानका कारण वर्षामा मात्र होइन हिउँद याममा समेत धुले पहिरो जाँदा यो सडकमा बर्सेनि ७/८ जनाले ज्यान गुमाइरहेका छन् ।

निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता अनुसार माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म १ हजार १ सय २६ मिटर लम्बाइको सुरूङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

अहिले रहेको सडक करिब ५ किलोमिटर लामो रहे पनि पहाडको बीचबाट छेडेर सुरूङमार्ग निर्माण गर्दा दूरी घट्ने छ ।

निर्माण कम्पनीले ९ महिनापछि पहाड छेड्ने काम सुरु गरे पनि ठेक्का सम्झौता गरिएको पाँच वर्षभित्रै सुरुङमार्ग निर्माण गरी बुझाउनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस