एमालेले कुनै पार्टीसँग तालमेल गर्दैन : महासचिव पोखरेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमालेले कुनै पार्टीसँग तालमेल गर्दैन : महासचिव पोखरेल


४ चैत्र २०७८, शुक्रबार


धादिङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वैशाख ३० मा हुने निर्वाचनमा एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई लक्षित गर्दै उनले एमालेको बैसाखी टेकेर जित्ने सपना नदेख्न पनि चेतावनी दिए ।

नेकपा एमाले धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘औकात छ भने चुनावमा आउनुस्, अब नेकपा एमालेको बैसाखी टेकेर चुनाव जित्छु भन्ने सपना नदेख्नुस्’ नेता पोखरेलले भने ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धोका दिएको पनि उनको आरोप थियो ।

‘पहिला एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेका थियौँ, धोका दिएर काँग्रेसका पक्षमा जानेलाई फेरि जिताइदिनुपर्ने जिम्मेवारी बोकेका छैनौँ,’ पोखरेलले भने, ‘एक पटक कम्तीमा प्रचण्ड र माधव नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहन्छौँ ।’

यस्तै दाहाल र नेपाल नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेको उनको टिप्पणी थियो । ‘

काँग्रेसको नेतृत्वको बाटोमा हिँड्नेहरू कसरी कम्युनिस्ट ? कसरी समाजवादी हुन्छ ? उहाँहरूले रोजेको बाटो देउवाजीको बाटो हो,’ उनले भने ।

यस्तै माओवादी केन्द्र र माधव नेपाल पक्ष चुनावका लागि तयार नभएको पनि उनले आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस