लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : माधव नेपाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : माधव नेपाल


४ चैत्र २०७८, शुक्रबार


गोरखा । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्‍याएको गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री नेपालले लाप्राकसम्म सडक बाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्‍याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका हुन् ।

लाप्राकको नमुना बस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिएका हुन् ।

‘लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ’, उनले भने, ‘यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ ।’ उनले लाप्राकसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए।

विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्व प्रधानमन्त्री नेपालले जोड दिए । ‘विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो’, उनले भने, ‘तपाईँहरू पनि लाग्नुस्, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस