म्याग्दीमा डढेलोको जोखिम बढ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

म्याग्दीमा डढेलोको जोखिम बढ्यो


३ चैत्र २०७८, बिहिबार


म्याग्दी । म्याग्दीमा मानवीय लापरबाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खा याममा पालुवा पलाउने बाहना र आगोको जथाभाबी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वन जङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ ।

डढेलोको क्षति यतिमा मात्रै सीमित छैन, जनधनकोसमेत क्षति हुने जोखिम बढ्दै गएको छ । गत फागुन २४ गते मालिका गाउँपालिका–५ देवी स्थानको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भयो । भिर खर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर करिब २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनका भाइ मनबहादुर सख्त घाइते भएका छन् । अस्पतालमा उपचाररत मनबहादुरको अहिले चन्दा सङ्कलन गरी उपचार भइरहेको छ ।

जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उक्त घटना भएको थियो । अहिले जिल्लाको दर्जन बढी स्थानमा डढेलो लागिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मानवीय लापरबाहीका कारण डढेलोको घटना बढ्दै गएको र पूर्व तयारी नहुने, स्रोत साधनको अभावलगायतका कारणले यसले हरेक वर्ष भौतिक र मानवीय क्षति निम्त्याउन थालेको थाले ।

‘आफ्नो क्षेत्र मात्रै सुरक्षित छ भनेर बस्न मिल्ने अवस्था होइन, एक क्षेत्रमा लागेको डढेलो अर्को ठाउँमा पनि फैलन सक्छ, वनमा लागेको आगो निभाउने आधारभूत सचेतनासमेत फैलाउन जरुरी छ, त्यसमा सुरक्षा निकाय र डिभिजन वन कार्यालयसँगै वन उपभोक्ता समूह र स्थानीय तहलेसमेत तत्परता देखाउनुपर्छ’, उनले भने ।

आगलागी नियन्त्रणका लागि संयन्त्र नबन्दा सयौँ मानिस रमिते बन्ने गरेको उल्लेख गर्दै उनले सानो कमजोरी र सामान्य सावधानी अपनाउन नसक्दा ठुलो क्षति व्यहोर्नुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउँछन् । नेपालमा अधिकांश आगलागी मानवीय कमजोरीका कारण सिर्जित हुने गरेको छ । वर्षेनी करिब एक लाख हेक्टर वन क्षेत्रमा डढेलोको असर पुग्ने र त्यसले वनस्पति, वन पैदावार, वन्यजन्तु, जैविक विविधतासँगै जनधनमासमेत क्षति पुर्‍याउने गरेको छ ।

प्राकृतिक र आकस्मिकरुपमा समेत वन जङ्गलमा आगलागी हुने भए पनि नेपालमा ८० प्रतिशत वन डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । सुख्खा यामको सुरुआतमै आगलागीले वन जङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । डढेलो हरेक सुक्खा यामको एउटा ठुलो समस्या हो ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले वन डढेलोको घटना बढ्दो क्रममा रहेकाले समुदाय स्तरमा वन डढेलोले निम्त्याउने असर र जोखिमबारे सचेतनासँगै जथाभाबी आगलागी गराएर डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाही हुनेबारेमा समुदाय स्तरमा सन्देश फैलाउन आवश्यक रहेको बताए ।

म्याग्दीका अधिकांश वन क्षेत्र भिरालो जमिनमा रहेको, धेरैजसोमा पानीको सहज उपलब्धता नभएका कारण आगलागीका घटनाले ठुलो क्षति निम्त्याउने गरेको उनले बताए । उनका अनुसार, गत वर्ष एक जना र यो वर्षको फागुन अन्तिम साता एक जनाले डढेलोका कारण ज्यान गुमाएका छन् । गत वर्ष जिल्लामा एक हजार ११७ हेक्टर बढी वन क्षेत्र डढेलोले सखाप पारेको थियो ।

उक्त वर्षमा बेनी नगरपालिकाको छ, मङ्गला गाउँपालिकाको १०, मालिका गाउँपालिकाको सात, रघुगङ्गा गाउँपालिकाको १०, अन्नपूर्ण गाउँपालिकाको सात र धवलागिरि गाउँपालिकाको छ स्थानका वन क्षेत्रमा डढेलो लागेको थियो । जिल्लामा डढेलो नियन्त्रण र रोकथामका लागि डिभिजन वन कार्यालयले सञ्चारमाध्यममार्फत सूचना प्रकाशन÷प्रसारणसँगै विभिन्न विद्यालयमा विद्यालय शिक्षा र वन उपभोक्ता समूह स्तरमा डढेलो नियन्त्रणसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

विद्यार्थी हुँदै समुदायमा सचेतना फैलाउने उद्देश्यले यस वर्ष विभिन्न १२ विद्यालयमा डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यालयले वन्यजन्तुलाई खानेपानीको प्रबन्ध मिलाउन र डढेलो लागेका समयमा आगो नियन्त्रणका लागिसमेत प्रयोग गर्न सघाउने प्रयोजनका लागि यस वर्ष विभिन्न १० वटा सामुदायिक वनमा पोखरीसमेत निर्माण गर्न थालेको जनाइएको छ ।

त्यसै गरी समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्नि रेखा निर्माणलगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यक पर्ने डढेलो नियन्त्रणका सामग्री सहयोग, पूर्व तयारीसँगै डढेलो लागेमा सुरक्षा निकाय, वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवालासँग समन्वयसँगै जनशक्ति परिचालनमा समेत अगुवाइ गरिँदै आइएको डिभिजन वन अधिकृत रानाभाटले जानकारी दिए । नेपालमा पछिल्लो पाँच वर्षमा गत वर्ष सबैभन्दा धेरै डढेलो लागेको थियो ।

गत वर्ष सन २०२१ मार्च २६ का दिन देशका ५४ जिल्लाको ४३७ स्थानमा एकै पटक डढेलो लागेको थियो । डढेलो लगाउनेलाई जरिवाना सहित कैद सजाय हुन भए पनि समुदायबाट सूचना लुकाउने प्रचलनका कारण घटनामा संलग्नको पहिचानमा समस्या हुने गरेको सहायक डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले बताए। उनका अनुसार, डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस