दुई महिनाभित्र लाइसेन्स दिइसक्ने विभागको तयारी, फारम भरेर बसेकालाई एसएमएस गरेर बोलाइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई महिनाभित्र लाइसेन्स दिइसक्ने विभागको तयारी, फारम भरेर बसेकालाई एसएमएस गरेर बोलाइने


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । यातायात व्यवस्था विभागले पुरानो र नयाँ आवेदन दिएकाहरूलाई बढीमा दुई महिनाभित्र लाइसेन्स दिइसक्ने जनाएको छ । त्यसपछि, आवेदन दिएको एक हप्ताभित्रै सेवाग्राहीको पालो आउने गरी व्यवस्थापन गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताएका छन् ।

अहिले फारम भरेर बसेकाहरू कतिपयको २ वर्षपछि मात्रै पालो आउने उल्लेख छ । तर, उनीहरूलाई अब एसएमएसबाट जानकारी गराएर परीक्षाका लागि छिटो बोलाइने भुसालले बताए ।

विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिएकाहरूको पुरानो मौज्दात सकेर मात्र नयाँ आवेदन खुला गर्ने भएको छ ।

पालो कुरेर बसेकाहरूको सङ्ख्या धेरै छ,’ सूचना अधिकारी भुसालले भने, ‘बढीमा दुई महिनाभित्र सबैलाई एसएमएसमार्फत जानकारी गराएर लाइसेन्स परीक्षाका लागि बोलाउने गरी काम गरिरहेका छौँ ।’

लाइसेन्सका लागि सेवाग्राहीले धेरै समय पर्खिनुपर्ने अवस्था रहेकाले यो समस्याको अन्त्य गर्ने गरी काम भइरहेको उनको दाबी छ ।

लाइसेन्सका लागि परीक्षा पास भएर लामो समयदेखि बसेकाहरूको पहिले लाइसेन्स वितरण गरिने विभागले जनाएको छ । सूचना अधिकारी भुसालले भने, ‘सबै सकिएपछि मात्र नयाँ आवेदन खुला गरिनेछ, नयाँ आवेदन भर्नेको एक हप्ताभित्रै जाँचको प्रक्रिया सुरु हुने गरी फारम भर्ने व्यवस्था मिलाउन लागिएको हो ।’ तर नयाँ आवेदन कहिलेबाट खुल्छ भन्ने निश्चित भइसकेको छैन ।

उनका अनुसार नवीकरण र ट्रायल दिएर बसेका करिब ३ लाख छन् । जसको लाइसेन्स प्रिन्ट भएर वितरण हुने प्रक्रियामा छ । नयाँ लाइसेन्सका लागि फारम भरेर परीक्षा दिन बाँकी सङ्ख्या ५ लाख ८० हजार रहेको विभागले जनाएको छ ।

सबै प्रदेश अन्तर्गतका यातायात कार्यालयहरूले चाँडो लाइसेन्स वितरण सक्ने गरी काम भइरहेको उनको भनाइ छ । विभागले चैत १ गते सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन लिने कार्य बन्द गरेको थियो ।

सम्बन्धित समाचार : आजदेखि नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द

सूचनामा पुरानो लाइसेन्सको वितरण सक्न हाल नयाँ आवेदन बन्द गरिएको जनाइएको छ । अहिले लाइसेन्सका लागि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गर्छ ।

नवीकरणदेखि नयाँ लाइसेन्स लिनका लागि सधैँ सेवाग्राहीलाई घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता छ । विभागले सहजीकरण गर्न नसक्दा सेवाग्राहीले सधैँ सास्ती खेप्नु परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस