सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा अधिकारीबिच छलफल « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा अधिकारीबिच छलफल


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबिच भारतको जोलजिविमा छलफल भएको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरू बिच भारतको जोलजिविमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध, चेलीबेटी बेचबिखन, तस्करी लगायतका आपराधिक क्रियाकलापविरुद्ध दुवै देशका सुरक्षाकर्मीको सहयोग र सहकार्यका विषयमा बैठकमा छलफल गरिएको डिएसपी भट्टले बताए ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबिच बेलाबेला यस्ता किसिमका बैठक हुने गरेका छन् । यस वर्ष ७ पटक नेपाल–भारतका सीमा सुरक्षा अधिकारीबिच बैठक भएको उनले बताए । आवश्यकताका आधारमा एकदेखि डेढ महिनामा यस्ता किसिमका बैठक हुँदै आएको डिएसपी भट्टले बताए ।

यस अघि दार्चुला र भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारी स्तरमा भर्चुअल रूपमा बैठक भएको थियो ।

सीमा सुरक्षा अधिकारीहरूको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्ट, दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, दत्तु विओपी तथा प्रहरी चौकीका प्रमुख, लालि विओपी तथा प्रहरी चौकीका प्रमुख लगायत सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको डिएसपी भट्टले बताए

भारतको तर्फबाट सीमा बैठकमा एसएसबी ५५ बि बाहिनी एचोलीका एसएसपी कमाण्डेन्ट अजय पाण्डे, दार्चुलाका एसएसपी प्रमुख, प्रहरी प्रमुख लगायत सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस