काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन् ।
आज बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् ।
अमेरिकाकी श्री साइनी फस्ट रनर अप र कोटे डी आई भोरकी ओलिभिया एस सेकेन्ड रनर अप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज गहिर्याइन्।
कोरोना महामारीको कारण यस पटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सकिनन् ।
मिस वर्ल्डको मुख्य विधा मानिने ब्युटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् । पिएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।